आज यी स्थानमा भारी वर्षाको सम्भावना
असार १३, २०८२ । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई भू–भागहरूमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हाल हल्का वर्षा भइरहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली र अन्य भू–भागमा आंशिक बदलीसहित मौसम मुख्यतया सफा रहेको जनाइएको छ ।
आज (शुक्रबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना समेत रहेको छ ।
आज बिहानै जारी गरिएको बुलेटिनमा महाशाखाले उच्च–पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको जनाएको छ । साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भाग तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ ।
महाशाखाले वर्षाका कारण नदीहरूको जल सतह बढ्न सक्ने, गग्रान बहाव, बाढी, पहिरो र भूक्षय जस्ता जोखिम हुन सक्ने जनाउँदै सतर्कता अपनाउन आह्वान गरेको छ । जनस्वास्थ्य, कृषि, यातायात र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको छ ।

