गृहमन्त्री लेखकको राजीनामाबारे गृहमै ‘गाइँगुइँ’
असार ४, २०८२ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने र गृहमन्त्री रमेश लेखकको राजीनामासहित समसामयिक विषयमा छलफल हुनेछ ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयमा छलफल हुने एजेन्डा रहेको छ । यसअघि कांग्रेसले केन्द्रीय समितिको बैठक १४ असारमा बस्ने जनाएको थियो । तर, मंगलबार एक सूचनामार्फत कांग्रेसले बुधबार (आज) आकस्मिक रूपमा बैठक बोलाएको छ ।
अहिले भिजिट भिसा प्रकरणमा जोडेर गृहमन्त्री लेखकको आलोचना भइरहेको छ । आलोचनकै बीचमा बस्न लागेको केन्द्रीय समिति बैठकले अबको निष्कर्षसहित कसरी अगाडि बढ्ने ’दयगतमा समेत रणनीति तय गर्ने बताइएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको मात्रै नभई उनी आबद्ध पार्टी कांग्रेसका साथै सत्तारूढ गठबन्धन र सरकारको समेत चर्को आलोचना भइरहेको छ ।
प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितका दलहरूले गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आइरहेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले राजीनामा दिनुनपर्ने निष्कर्षसहित अगाडि बढेका छन् ।
यसअघि गृहमन्त्रीको राजीनामा माग्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग दुईबुँदे सहमति गरेपछि रास्वपा र राप्रपा झन् आक्रमक रूपमा अगाडि बढेका छन् । उनीहरूको अवरोधका कारण निरन्तर संसद् अवरुद्धसमेत भइरहेको छ ।
विपक्षीहरूबाट निरन्तर प्रहार हुन थालेपछि बैठकमा नेताहरूको छलफलबाटै ठोस निष्कर्षमा पुग्नुपर्ने दबाबमा कांग्रेस छ । ‘पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ,’ कांग्रेसले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यता, मंगलबार सभामुख देवराज घिमिरे र गृहमन्त्री लेखकका बीचमा छलफल भएको छ । विपक्षी दलहरूले संसद् अगाडि बढ्न नदिनेगरी निरन्तर अवरुद्ध गर्न थालेपछि अब के गर्ने भन्ने ’दयगतमा सभामुख घिमिरे र गृहमन्त्री लेखकका बीचमा छलफल भएको हो । स्रोतका अनुसार यस’दयगतमा पार्टीको केन्द्रीय समितिले लिने निर्णयका आधारमा आफू अगाडि बढ्ने जानकारी गृहमन्त्री लेखकले सभामुखलाई गराएका छन् ।
सभामुख र गृहमन्त्रीको छलफलसँगै बुधबार कांग्रेसले आकस्मिक रूपमा केन्द्रीय समितिको बैठक बोलाएपछि लेखकले राजीनामा दिने गाइँगुइँ गृह मन्त्रालयमा सुरु भएको छ । गृहको कर्मचारी संयन्त्रमा अब गृहमन्त्रीको राजीनामा आउनसक्ने चर्चा भइरहेको छ । ‘गृहमन्त्रीले बुधबारको बैठकपश्चात राजीनामा दिने चर्चा मन्त्रालयमा छ,’ एक कर्मचारीले भने ।
तर, कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले गृहमन्त्री लेखकले राजीनामा दिनुनपर्ने जनाएका छन् । प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्नु ठीक नभएको बताउँदै उनले विरोध गर्दैमा राजीनामा दिनुनपर्ने बताए । भिजिट भिसा प्रकरणमा कर्मचारी मुछिँदा गृहमन्त्रीले राजीनामा दिन नपर्ने जिकिर उनले गरे ।
सत्तारूढ दल कांग्रेसले राजीनामा दिनुनपर्ने बताउँदै गर्दा रास्वपा नेताहरूले भने गृहमन्त्रीको राजीनामा आउनैपर्ने अडान लिएका छन् । रास्वपा नेतृ एवं सांसद डा। चन्दा कार्कीले भिजिट भिसा प्रकरणमा आफूहरूले उठाएको मागप्रति सरकार उदासीन बनेको आरोप लगाएकी छन् । भिजिट भिसाको आवरणमा नेपालबाट ठूलो परिमाणमा मानव तस्करी र भ्रष्टाचार भइरहेको तथ्य बाहिर आएको बताउँदै कार्कीले सरकार यस विषयमा गम्भीर नबनेको आरोप लगाइन् ।
उनले आफूहरूले गृहमन्त्री लेखकलाई सो प्रकरणमा अपराधी नभनेको स्पष्ट पारिन् । तर, विवादास्पद अध्यागमन प्रमुखलाई एक दिनमै सरुवा गरिनु र मन्त्रालयमा फर्काउने कुराले प्रश्न भने उठेको उनले बताइन् । गृहमन्त्री लेखकमाथि प्रत्यक्ष संरक्षण र परोक्ष संलग्नताको आरोप लागेपछि पदमा बसेर निष्पक्ष छानबिन हुन नसक्ने बताउँदै गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको जिकिर छ ।
‘उहाँले गत वर्ष संसद्मा प्रस्तुत गर्नुभएको नैतिकताको मानकअनुसार राजीनामा दिनुपर्छ भनेका हौं, यसमा हामीले गलत के भन्यौं रु’ कार्कीले भनिन् । उनले यस प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन हुनुपर्ने बताउँदै यत्रो दिनसम्म आफूहरूले विषय उठाउँदा सरकार चुप लागेर बस्नु दुई तिहाइको घमण्ड मात्रै भएको टिप्पणी गरिन् । यो खबर राजधानीबाट लिएका हौ ।

