अखवार

नयाँ सत्ता गठबन्धन : मुलुक जोगाउन कि ‘मालिक’ ?

Sharing is caring!


असार १९, २०८१ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच एमाले नेतृत्वमा सरकार गठन गर्ने सोमबारको सहमतिसँगै यसका पक्ष विपक्षमा विभिन्न टीकाटिप्पणी चलेको छ ।

संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी सहमति बनेको केहीको बुझाइ छ भने केहीले यो यसलाई चरम अवसरवादको संज्ञा दिएका छन् । गठबन्धनको समाचार सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यस्तै केही पेचिला र रमाइला टिप्पणीले भरिएका छन् ।

यी मध्ये काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको एउटा टिप्पणी व्यापक चर्चामा छ । आफ्नो फेसबुक पेजमा उनले ओली र देउवाको चिया खाँदै गरेको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऔं भाले ।’ उनको यो पोस्टको केही घण्टामै लाखौं लाइक र हजारौं कमेन्ट आएका छन् ।

बालेनले दलप्रतिको निराशाजनक टिप्पणी गर्दै गर्दा अर्का एक सर्वसाधारणले भने यो गठबन्धनलाई कालो बादलमा देखिएको आशाको किरणसँग तुलना गरे । ‘मुलुक जोगाउने उद्देश्यले जिम्मेवार दुई ठुला दल मिलेको भए यो एकदमै राम्रो कुरा,’ सामाजिक सञ्जालमा दिवस घिमिरे लेख्छन्, ‘यदि ‘मालिक’ जोगाउन गरेको भए यो लोकतन्त्रकै आत्मघाती कदम हुनेछ ।’

यो सहमतिको बलियो आधार असार १५ गते बालकोटमा निर्माण भएको थियो । त्यसैले कतिपयले यो सरकारको गठनलाई आफू जोगिन गरेको तारतम्यसँग पनि जोडेका छन् । असार १५ गते पक्राउन परेका बेचन झा र प्रतीक थापाको समाचारसँगै उनीहरूले टिप्पणी गरेका छन् । ‘दुई व्यक्ति पक्राउ परेलगत्तै ‘बा’को मायाले पक्कै पनि बुढानीलकण्ठबाट एक जोडी बालकोट आएका होइनन् होला,’ सामाजिक सञ्जालमा रितेश केसी लेख्छन्, ‘दालमा केही कालो हो कि पुरै दाल कालो हो ।’

उनको यो भनाइ जस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि आएको छ । उनले पनि भ्रष्टाचारको फाइल खुलेपछि कांग्रेस र नेकपा (एमाले) बीच नयाँ गठबन्धन बनेको बताएका छन् । सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ठुला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको दाबी गरे ।

‘तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्‍यो, फाइल खोल्नुपर्‍यो । फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो,’ उनले भने, ‘मैले के भन्नु र १’ उनले एकाएक संविधान जोगाउनुपर्ने चिन्ता सरकारलाई कसरी आयो भन्दै यो उनले संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्दै व्यङय गरे । वर्तमान गठबन्धनसँग बिच्किएका एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच एमाले नेतृत्वमा सरकार गठनलाई समर्थन गर्ने सहमति भएको हो । जसमा ओलीलाई २ वर्ष प्रधानमन्त्री बनाउने र देउवालाई बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बनाउने उल्लेख छ ।

कांग्रेसले राजनीतिक स्थायित्वका लागि ठुला दल मिल्नु जरुरी रहेको धारणा राखेको छ । ‘राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र राष्ट्रिय सहमतिका साथ संविधान कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न ठुला दल मिल्नु जरुरी थियो, ‘कांगेस नेता डा। प्रकाशशरण महतले भने, ‘राजनीतिक अस्थिरताका कारण लोकतन्त्र नै खतरामा पर्ने सम्भावना पनि छ ।’

कांग्रेस र एमालेबिचको ७ बुँदे समझदारीमा ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने र प्रदेश सरकारहरूमा ३र३ वटा सरकार बाँड्ने। मधेस प्रदेशमा चाहिँ मधेस केन्द्रित दलकै नेतृत्व दिने उल्लेख छ । त्यस्तै संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी पनि भएको छ ।

उनीहरूको सहमतिमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने । पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने, संविधान पुनरवलोकन गर्न पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने तथा प्रदेशसभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचित मात्रै राख्ने उल्लेख छ । कांग्रेस र एमालेको यो गठबन्धनलाई नेकपा ९एकीकृत समाजवादी० ले चरम अवसरवाद भएको टिप्पणी गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिएका हुन् । उनले यो लोकतन्त्रका निम्ति पनि खतरा भन्दै प्रणालीलाई कमजोर पार्ने काम भएको बताए । सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौं भन्ने कुरा हामीलाई मान्ने छैन,’ उनले भने, ‘यसो गर्ने अधिकार कसैलाई छैन ।’

त्यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेबीच हुन लागेको गठबन्धन अग्रगमनभन्दा पश्चगमनतिर जाने संकेत रहेको टिप्पणी गरेका छन् । मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले यस्तो टिप्पणी गरेका हुन् । यो खबर नागरिकबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *