अखवार

फेरि वैकल्पिक सरकार गठनको प्रयास

Sharing is caring!

जेठ १७, २०८१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैकल्पिक सरकार गठनको प्रयास जारी राखेको छ । यसका लागि कांग्रेसका शीर्ष नेताहरु निन्तर पहल गरिरहेका छन् ।

आगामी आर्थिक बर्षको बजेट नै संसदमा प्रस्तुत हुन नदिने प्रयासमा रहेको कांग्रेस अन्ततः संसदको अवरोध खोल्न तयार भयो । तर आगामी आर्थिक बर्षको बजेट आएको भोलिपल्टै सत्तारुढ नेकपा एकीकृत समाजवादी समेतको सहभागितामा कांग्रेसले विपक्षी दलहरको बैठक राखेर सत्ता फेर्ने प्रयास निरन्तर गरिरहेको सन्देश प्रवाह गरेको छ ।

कांग्रेसले बोलाएको प्रतिपक्षी दलहरूको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रमुख सचेतक मेटममणि चौधरीलिएर गएका हुन् । विपक्षी दलहरुको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको थियो ।

विपक्षी दलहरको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालबाहेक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव उपस्थित थिए ।

विपक्षी दलहरुको बैठकपछि एकीकृत समाजवादीका प्रमुख सचेतक चौधरीले देश गन्जागोल अवस्थामा पुगेकाले संवाद गर्न कांग्रेस सभापति देउवाकोमा पुगेको बताए ।

उनका अनुसार मधेस प्रदेश सरकारलगायत विषयमा छलफल भएको छ । उनले भनेका छन्, ‘मधेस प्रदेश सरकारसहित अन्य प्रदेश सरकारको अवस्थामा पनि प्रश्नहरु छन् । संघीय सरकार पनि धरमर छ । देश नै गन्जागोल भएको बेला कसरी निकास दिने भनेर सामान्य छलफल भयो ।’

छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफू मधेश सरकारको विषयमा आफूहरु सकारात्मक रहेको बताएका छन् । यो विषयमा पार्टीमा छलफल गरेर निर्णय दिने पनि उनले बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि मधेस सरकार जोगाउन प्रतिपक्ष दलहरु एक ठाउँमा उभिने सहमति भएको बताएका छन् ।

लोसपाका नेता शरतसिंह भण्डारीले पनि मधेश प्रदेशमा वैकल्पिक गठबन्धनको सरकार बनाउनेसहित समसामयिक राजनीतिक विषयहरुमा छलफल भएको बताए । उनका अनुसार छलफललाई अझै निरन्तरता दिने सहमति भएको छ ।

उनका अनुसार छलफलमा सहकारी ठगी प्रकरणका विषयमा समेत छलफल भएको थियो । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मधेशमा पनि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन् । यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला जसपा नेपालले कांग्रेससहित अन्य दलसँग मिलेर सरकार बनाउने प्रयास गरिरहेको छ ।

मधेश प्रदेशसभामा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । यो खबर नेपाल मध्यान्हबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *