देशविजनेस

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, तोलाको १ लाख ९० हजार नाघ्यो

Sharing is caring!

वैशाख ४, २०८२ । नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै उच्च विन्दु छोएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ। यो मुल्य अघिल्लो दिनको तुलनामा ३६ सय रुपैयाँले बढी हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार मात्र प्रतितोला १७ सय रुपैयाँले बढेको सुन बिहीबार थप उकालो लाग्दै नयाँ रेकर्ड कायम गरेको हो। लगातारको वृद्धिले सुन बजारमा चासो बढेको देखिएको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १९ सय ६० रुपैयाँ पुगेको छ। मंगलबारको तुलनामा यो मूल्य ५ रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै त्यसको असर नेपाली बजारमा देखिएको व्यवसायीहरू बताउँछन्। अमेरिकी डलरको दर, अन्तर्राष्ट्रिय बजारमा माग र भूराजनीतिक अवस्थाहरूले सुनको मूल्यलाई प्रभाव पार्ने गरेको व्यवसायीको भनाइ छ।

अघिल्लो केही हप्तादेखि सुनको मूल्यमा उतारचढाव देखिँदै आएको थियो। तर पछिल्ला केही दिनयता भने निरन्तर वृद्धिले बजारमा नयाँ तरंग ल्याएको छ। केही व्यवसायीले यो वृद्धिलाई लगानीकर्ताको आकर्षणसँग पनि जोडेर हेरेका छन्।

दैनिक उपभोग्य सुनका सामग्री खरिद गर्ने उपभोक्ता भने मूल्य वृद्धिले हैरान देखिन्छन्। “अहिलेको भाउले त साधारण आम्दानी भएका मानिसका लागि गहना किन्ने कुरा सपना जस्तै भयो,” एक उपभोक्ताले भने।

विशेष गरी विवाह तथा चाडपर्वको मौसममा सुनको माग बढ्ने गर्छ। तर लगातार बढ्दो मूल्यले मागमा प्रभाव पर्न सक्ने अनुमान व्यवसायीको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *