सुनको भाउ पुनः घट्यो, चाँदीमा भने सामान्य वृद्धि
वैशाख ३०, २०८२ । स्थानीय बजारमा सुनको मूल्यमा लगातार गिरावट देखिएको छ। अघिल्लो दिनको तुलनामा आज पनि सुनको भाउ घटेको छ भने चाँदीको मूल्य भने सामान्य रूपमा बढेको देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाला सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेर १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यसै सुनको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँ थियो। त्यसअघि आइतबार यो मूल्य १ लाख ९० हजार ५०० रुपैयाँमा कायम गरिएको थियो।
सुनको मूल्य लगातार ओरालो लागिरहँदा चाँदीको भाउ भने केही वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको १९ सय ६० रुपैयाँको तुलनामा १० रुपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढाव र अमेरिकी डलरसँगको विनिमय दरको असरले नेपालमा सुनचाँदीको मूल्यमा परिवर्तन भइरहेको व्यवसायीहरूको भनाइ छ।

