सुकुम्बासी संगठनका मोर्चाहरू आम जनता पार्टीमा समाहित
वैशाख ३१, २०८२ । आम जनता पार्टी (आजपा)मा नेपाल भूमिहीन सुकुम्बासी संघसहित विभिन्न सुकुम्बासी संगठनहरू समाहित भएका छन् । बुधबार राजधानीको कोटेश्वरस्थित आजपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ती संगठनका पदाधिकारी र सदस्यहरूले पार्टी प्रवेश गरेका हुन् ।
पार्टी अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले उनीहरूलाई खादा र टीका लगाएर स्वागत गर्दै सुकुम्बासी अधिकारको आन्दोलनलाई सशक्त बनाउने प्रतिबद्धता जनाए । उनले राज्यद्वारा गरिएको विभेदप्रति आक्रोश व्यक्त गर्दै भने, “सुकुम्बासीसँग कर लिने, मत माग्ने तर खानेपानी र बिजुली नदिने — यस्तो व्यवहार मानवताविरुद्धको अपराध हो ।”
अध्यक्ष साहले देशको विभिन्न स्थानमा भइरहेको जग्गा हिनामिना, विशेषगरी ललिता निवास, बालुवाटार र पतञ्जली प्रकरणजस्ता मुद्दाहरूको उदाहरण दिँदै भूमिहीन र सुकुम्बासी वर्गमाथि भइरहेको अन्यायविरुद्ध एकजुट भएर आन्दोलन गर्नुपर्ने बताए । भूमी आयोगको भूमिकालाई उनले ‘कार्यकर्ता पाल्ने मेलो’ को संज्ञा दिँदै आयोगलाई प्रभावहीन संस्था भएको आरोप लगाए।
पार्टीमा समाहित हुनेहरूमध्ये नेपाल भूमिहीन सुकुम्बासी संघका अध्यक्ष कालबहादुर विक, उपाध्यक्ष अमर योङया, महासचिव एमडी सतार, कोषाध्यक्ष बिन्दा कटुवाल, सदस्य कृष्ण सापकोटा र संयुक्त सुकुम्बासी मोर्चाका सचिव राम विष्ट लगायत थिए।
सहमति पत्रमा आजपा सहअध्यक्ष तिलक थापामगर र सुकुम्बासी संगठनका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार सुकुम्बासी, श्रमजीवी, उत्पीडित, दलित लगायतका वर्गहरूको हकहित सुनिश्चित गर्न राजनीतिक र सामाजिक संघर्षलाई सशक्त बनाइनेछ।
नेपाल भूमिहीन सुकुम्बासी संघका अध्यक्ष विकले २३ ओटा आयोग बने पनि अहिलेसम्म सुकुम्बासीले लालपूर्जा नपाएको उल्लेख गर्दै दुःख प्रकट गरे । उनले भने, “हामीले बालेन साहलाई मेयर जिताएका थियौं, तर उहाँ नै हाम्रो बस्ती भत्काउन डोजर लिएर आउनुभयो । अब हामी चुप लाग्दैनौं, निर्णायक आन्दोलनमा जान्छौं ।”
कार्यक्रम आजपा संगठन विभाग प्रमुख अमर साहको अध्यक्षतामा सम्पन्न भयो भने प्रवक्ता चन्द्रभुषण साहले सञ्चालन गरेका थिए । कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरू, कार्यकर्ता र सुकुम्बासी समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


