देश

बाल क्यान्सरको उपचार आर्थिक अभावले रोकिने छैन: मन्त्री पौडेल

Sharing is caring!

फागुन ५, २०८१ । नेपालले बाल क्यान्सरको निःशुल्क उपचारका लागि आवश्यक औषधि सहयोग प्राप्त गरेको छ। विश्व स्वास्थ्य संगठन (WHO) र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स अन्तर्गत नेपालले बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप प्राप्त गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरुलाई धन्यवाद दिँदै आर्थिक अभावमा कुनै पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले मन्त्रालयले मंसिर १ गतेबाट लागु हुने गरी बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिए।

उनले प्राप्त सहयोगले बाल क्यान्सरका कारण हुने मृत्युदर नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। मन्त्री पौडेलले देशको प्रमुख स्वास्थ्य समस्या बनिरहेको क्यान्सर नियन्त्रणका लागि सरकारले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवद्र्धनका लागि काम गरिरहेको बताए।

उनले क्यान्सरको उपचारलाई विस्तार गर्दै सबै प्रदेशमा पुर्याउने काम भइरहेको र यसमा क्रमैसँग सुधार ल्याउने योजना रहेको उल्लेख गरे।

प्राप्त औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारका लागि उपयोग हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। उनले बाल क्यान्सरको निःशुल्क उपचार गर्ने मन्त्रालयको निर्णयमा यी औषधिले महत्वपूर्ण भूमिका खेल्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *