राजनीतिमा पूर्वराष्ट्रपति विद्याको सक्रियता तीव्र
वैशाख ७, २०८२ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सक्रियतालाई तीव्र बनाउँदै जानुभएको छ । दुई कार्यकाल गरेर शीतल निवासको सात वर्षे बसाइ पूरा गर्दै २०७९ साल फागुनमा निजी जीवनमा फर्किनुभएकी भण्डारी केही समय मौन बस्नुभयो । शीतल निवासबाट भंगालस्थित आफ्नै निवास फर्किएपछि पूर्वराष्ट्रपति भण्डारीले पार्टी एवं राजनीतिक मञ्चहरूमा उपस्थिति देखाउनुभएन । विस्तारै नेकपा एमालेको राजनीतिमा फर्कने बाटो खोजिरहनु भएकी भण्डारीले गत पुसदेखि भने राजनीतिक सक्रियतालाई तीव्र बनाउनुभएको छ । गत पुस २ गते एक सार्वजनिक कार्यक्रमको लागि पोखरा पुग्नुभएकी भण्डारीले त्यहाँ राजनीतिक भेटघाटसमेत गर्नुभयो । त्यसपछि उहाँको राजनीतिक सक्रियतामा चितुवाको चाल जस्तै बनेको छ । पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताले मुलुकको राजनीतिमा तरंग नै ल्यायो । पूर्वराष्ट्रपति भण्डारीले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको भ्रमण गरिसक्नु भएको छ । ती प्रदेशहरूमा जाँदा भण्डारीनिकट नेताहरूसँग लामै भेटवार्ता र सम्वाद गर्नुभएको थियो । राजधानीमा रहँदा पनि बूढानीलकण्ठस्थित निवासमा लगातार राजनीतिक भेटवार्ता चल्दै आएको छ ।
पूर्वराष्ट्रपतिको राजनीतिक सक्रियता अहिले पनि जारी छ । राजनीतिक पृष्ठभूमिकी विद्या भण्डारीको सक्रिय राजनीति आगमन स्वाभाविक भएको कतिपयको तर्क छ । तर, कतिपयले भने पूर्वविशिष्टको राजनीतिमा सक्रिय हुने प्रयास गलत भएको टिप्पणी गरिरहेका छन् । नेकपा एमाले पार्टीभित्र अहिले अर्को कुनै पदाधिकारीले असन्तुष्ट वा पीडित पक्षको नेतृत्व गर्ने आँट नभएकाले पनि विद्या भण्डारीको कमब्याकको बहस बलियो बनेको छ । भण्डारी एमालेमा प्रतिस्पर्धा गरेर नेतृत्वमा आउने नभएर अध्यक्ष वा पार्टीकै प्रस्तावमा मात्र आउने नेताहरूको जिकिर छ ।
राजनीतिक सक्रियतासँगै नेकपा एमालेभित्र पूर्वराष्ट्रपति भण्डारीको गुट बलियो बन्दै गएको छ । पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको आगमनसँगै एमालेमा संस्थापन र इतर गुट लगभग समाप्त नै भएको थियो । तर, पूर्वराष्ट्रपतिको सक्रियतापछि एमालेमा अहिले औपचारिक रूपमै संस्थापन र इतर समूह अस्तित्वमा आएको छ । संस्थापन पक्षको नेतृत्व अध्यक्ष ओली र इतर समूहको नेतृत्व पूर्वराष्ट्रपति भण्डारीले गरिरहेको एमालेकै नेताहरूको स्वीकारोक्ति छ । पार्टी मातहतका केही कमिटीको निर्वाचनमा संस्थापन र इतर पक्षबीच प्यानलै बनाएर प्रतिस्पर्धासमेत भएको छ ।
शुक्रबार सम्पन्न नेकपा एमाले विराटनगर महानगर कमिटीको सम्पन्न दोस्रो अधिवेशनमा इतर समूहले जित निकालेको छ । केही समयअघि भएको जिल्ला अधिवेशनको झल्को दिनेगरी महानगर कमिटीको पदाधिकारीमा पनि इतर समूहले क्लिनस्विप गरेको हो । महानगर कमिटीमा बलराम गिरी नेतृत्वको प्यानल नै विजयी भएको छ । सर्वसम्मत नेतृत्व छान्ने प्रयास असफल बनेपछि बिहीबार साँझ भएको मतदानमा ३१४ प्रतिनिधिमध्ये ३०८ मत खसेको थियो । जसमा अध्यक्षका उम्मेदवार बलराम गिरीले १७३ मत ल्याएर विजयी बन्दा संस्थापन समूहका उम्मेदवार रोहित कोइरालाले १२१ मत पाउनुभयो । अधिवेशन संस्थापन पक्षका लागि गम्भीर झट्का बनेको छ । जिल्ला अधिवेशनदेखि सक्रिय भूमिका खेल्नुभएका नेता विनोद ढकालले संस्थापनलाई दोस्रो झट्का दिनुभएको हो । ढकाल पूर्वराष्ट्रपति भण्डारी निकटका नेता हुनुहुन्छ । यसअघि जिल्ला अधिवेशनमा पनि पूर्वराष्ट्रपति भण्डारीनिकट ढकाल समूहकै अजम्बर राई नेतृत्वले पदाधिकारीमा क्लिनस्विप गरेको थियो । मोरङका १७ पालिकामध्ये १३ पालिकामा अधिवेशन सकिएको छ । अधिकांश पालिकामा ढकालले नेतृत्व गरेको समूहले जित निकालेको छ ।
नयाँ वर्षमा अर्थपूर्ण शुभकामना सन्देश
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्षमा मनोनीत गरेको केही दिनभित्रै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अर्थपूर्ण वक्तव्य जारी गनुर््भएको थियो । यसलाई संयोग मात्र मान्न सकिँदैन । पूर्वराष्ट्रपति भण्डारीले नयाँ वर्ष २०८२ को शुभकामना सन्देशमार्फत देशको राजनीतिक परिस्थिति र त्योभन्दा बढी नेकपा एमालेको समीक्षा गर्नुभएको थियो । यतिबेला एमाले र राष्ट्रिय राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको उक्त वक्तव्यलाई चासोका साथ हेरिएको छ । किनकि वक्तव्यमार्फत पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा आउँदै गरेको प्रष्ट सन्देश मात्र दिनुभएको छैन, वर्तमान नेतृत्वमाथि प्रश्न पनि उठाउनुभएको छ । भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि देशको कायापलट हुने विश्वास हामीले जनतालाई दिलाएका हौँ, खोजेको व्यवस्था प्राप्त भएपछि पनि जनताको जीवन स्तरमा महत्वपूर्ण परिवर्तन किन हुन सकिरहेको छैन रु यस्ता प्रश्नहरूमा अब चिन्ता मात्र प्रकट गरेर जनताको सहानुभूति बटुल्न खोज्नुभन्दा निर्मम आत्मसमीक्षा गर्दै फेरि पनि निरन्तर इमान्दार प्रयास गर्नुको विकल्प छैन ।’ वक्तव्यको निचोडमा भने भण्डारीले एमालेको सक्रिय राजनीतिमा आफू सामेल भइसकेकै सन्देश दिँदै भन्नुभएको छ ,‘नयाँ वर्षको आगमनसँगै हामी सबैले जनताका समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासहरूबाट आफूलाई अलग राख्ने प्रवृत्ति त्याग्नै पर्दछ । यो नयाँ वर्ष नवीन आशा र विश्वासको दियो बाल्ने वर्ष बन्नुपर्छ, समृद्धिको द्वार खुल्ने ऐतिहासिक वर्ष बन्नुपर्छ ।’
पूर्वराष्ट्रपति भण्डारीनिकट नेताहरूले शुभकामना बक्तव्यलाई राजनीतिक सन्देशकै रूपमा आएको स्वीकार गरेका छन् । भण्डारीनिकट एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले नयाँ वर्षको शुभकामना वक्तव्यमा उल्लेख गरिएको राजनीतिक भाषालाई पनि पूर्वराष्ट्रपति भण्डारी एमाले नेतृत्वमा आउँदै गरेको सन्देशकै रूपमा बुझ्नुपर्ने तर्क गर्दै भन्नुभयो, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीले देश, जनता र राजनीतिका बारेमा गरेको चिन्तालाई सकारात्मक रूपमै लिनुपर्छ । कसैले पनि यसलाई धेरै शंकाका दृष्टिले हेर्न जरुरी छैन । पार्टी थप एकताबद्ध र कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने अवस्था आउँछ भने पूर्वराष्ट्रपतिलाई नेतृत्वमा स्वागत गरेर जानुपर्छ । पार्टी एकताबद्ध बनाएर लैजानुपर्ने छ, त्यस्तो पात्र एमालेमा केपी शर्मा ओलीपछि विद्या भण्डारी नै हो ।’ पूर्वराष्ट्रपति भण्डारीले वक्तव्यमार्फत मदनको भावनाबमोजिम एमाले चल्न नसकेको समेत अप्रत्यक्ष रूपमा टिप्पणी गर्नुपर्छ ।
अध्यक्ष ओलीलाई असहज
पूर्वराष्ट्रपति विद्या भण्डारीको एमाले अध्यक्ष बन्ने तयारीले प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीलाई भने निकै असहज भएको छ । अध्यक्ष ओलीका लागि पूर्वराजाको प्रदेश यात्राभन्दा पूर्वराष्ट्रपति भण्डारीको प्रदेश भ्रमण बढ्ता टाउको दुःखाइ बन्न पुगेको एमालेकै कतिपय नेताहरूको टिप्पणी छ । उहाँ आफैँ भण्डारीलाई रोक्ने वा निरुत्साहित गर्ने पक्षमा भने देखिनुभएको छैन । भण्डारीले आफू एमाले अध्यक्ष बन्ने सम्भावना टरिनसकेको भन्दै केही महिनाअघि अन्तर्वार्तासमेत दिनुभएको थियो । राष्ट्रपति बन्नुअघि नेकपा एमालेको उपाध्यक्षसमेत रहनुभएकी भण्डारीले पार्टी सदस्यता नवीकरणसमेत गरिसक्नु भएको छ । सुरुका दिनहरूमा पूर्वराष्ट्रपति भण्डारीको एमाले प्रवेशको विषयलाई ठाडै अस्वीकार गर्नुभएका अध्यक्ष ओली पछिल्ला दिनहरूमा आवश्यकता परे सल्लाह गरेरै पार्टी नेतृत्वमा आउने भन्दै गल लगाएर नतान्न पार्टी कार्यकर्ता तथा जनवर्गीय संगठनका पदाधिकारीहरूलाई आग्रह गर्न थाल्नुभएको छ । पछिल्लो समय एमालेमा देखिने गरी प्रभाव र सक्रियता बढाउन नसकेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समेत भण्डारीलाई पार्टीमा सक्रिय गराउन खोजिरहनु भएको एमालेका नेताहरूको भनाइ छ । भण्डारी एमालेमा फर्काउन प्रभावशाली नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोकुल बास्कोटा, कर्णबहादुर थापा, आनन्द पोखरेल, खगराज अधिकारी, कृष्ण राई, डोरमणि पौडेललगायत रहेको चर्चा हुने गरेको छ ।
राष्ट्रपति बन्ने ढोका खुला : पूर्वउपराष्ट्रपति पुन
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको उपाध्यक्षको भूमिकामा फर्किनुभएका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले राजनीतिमा सक्रिय हुनुको अर्थ सांसद वा मन्त्री बन्ने नभएको बताउनुभएको छ । उहाँले शनिबार प्युठानमा भएको साक्षात्कारमा यस्तो बताउनुभएको हो । उहाँले पार्टीले दिएको जिम्मेवारीअनुसार पहिले उपराष्ट्रपति बनेको र अहिले माओवादी केन्द्रको उपाध्यक्षको भूमिकामा फर्किएको दाबी गर्नुभयो । राष्ट्रपति उपराष्ट्रपतिभन्दा माथिल्लो पद भएकाले पार्टीले जिम्मेवारी दिए जाने उहाँको तर्क थियो । ‘कम्युनिष्टहरूको पार्टीमा जिम्मेवारी बाँडफाँड कार्य विभाजनको कुरा मात्र हो, ठूलो कुरा होइन । मैले मेरो जिम्मेवारी त्यसरी नै बुझेँ । संवैधानिक रूपमा उपराष्ट्रपति दोस्रो पद हो । त्यो पदमा पुगेपछि फेरि किन सांसद वा मन्त्रीका लागि दौडने भन्ने कुरा उठ्छ, तर कम्युनिष्टहरूले त्यसरी बुझ्दैनन् । म त्यो पदमा पुगिसकेपछि सांसद वा मन्त्रीका लागि मरिहत्ते गर्ने मेरो लक्ष्य होइन,’ उहाँले भन्नुभयो । राष्ट्रपति बन्ने विषयमा सोध्दा उहाँले ‘राष्ट्रपति त मभन्दा माथिको पद भयो । भोलि पार्टीलाई माओवादीको कोटामा राष्ट्रपति पर्यो र माओवादीले तँ राष्ट्रपति हो भनेर निर्णय गरेर पठायो भने त्यो खुला छ । त्यसमा नैतिक हुन्छ, तर तल गएर सांसद, मन्त्री हुने कुरा नैतिक हुँदैन ।’ पुनले पार्टीको सेवा गर्न राजनीतिमा फर्किएको जिकिर गर्नुभएको थियो ।
पूर्वराष्ट्रपति र उपराष्ट्रपति पार्टीका दास : प्रवक्ता नेपाल
राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति पार्टी राजनीतिमा फर्किएको विषयमा कटु टिप्पणी गर्नुभएको छ । शनिबार राजावादीहरूले आयोजना गरेको ‘पृथ्वी पथको आवश्यकता विषयक’ कार्यक्रममा सम्बोधन गर्दै प्रवक्ता नेपालले दास भनेको पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन भएको टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘म प्रमाणित गर्छु, ‘दास र रैती भनेका दलका कार्यकर्ता हुन् । म प्रमाणित गर्छु, ‘दास भनेको विद्या भण्डारी हो । दास भनेको पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन हो,’ नेपालले भन्नुभयो, ‘दलको दास भएर राष्ट्रपति भइसकेपछि पनि दलकै दास हुन जानुभयो र पार्टीको कार्यकर्ता हुन जानुभयो । उपराष्ट्रपति भइसकेर पनि दलकै रैती हुनुभयो ।’ देशलाई राष्ट्रप्रमुख कुनै पनि दलको सदस्य नहुने पात्र चाहिएको उहाँको भनाइ थियो । ‘जो दलको रैती हुँदैन, दलको दास हुँदैन त्यस्तो राष्ट्रप्रमुख देशलाई चाहिएको छ, दलको रैती नबनेर सम्पूर्ण देशको साझा व्यक्ति चाहिएको छ,’ उहाँले भन्नुभयो, ‘यी रैती र दासबाट मुक्ति गर्न राजसंस्था चाहिएको छ ।’ उहाँले केही दिनअघि प्रधानमन्त्री ओलीले राजावादीलाई पशुपतिका बाँदरसँग तुलना गरेको प्रसंगमा भन्नुभयो, ‘बरु बाँदर जाति विकसित भएर मान्छे हुन सक्यो, कार्यकर्ता कहिल्यै मान्छे हुन सक्दो रहेनछ । विद्या भण्डारीले पुष्टि गर्नुभयो । पूर्वराष्ट्रपतिले पुष्टि गर्नुभयो ।’ यो खबर हिमालय टाइम्सबाट लिएका हौ ।

