अरुले रोक्न खोज्दाखोज्दै पूर्वराष्ट्रपति विद्या भण्डारी आइन् राजनीतिमा
असार १५, २०८२ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा आफू उपाध्यक्ष रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेकी छन् । त्यसका लागि उनले पार्टी संगठित सदस्यतासमेत नवीकरण गरिसकेको जनाएकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउन एमाले नेता–कार्यकर्ताले लामो समयदेखि आग्रह गर्दै आएका थिए । त्यसका लागि उनले देश दौडाहा गर्दै पार्टी नेता–कार्यकर्ताको भावनासमेत बुझ्दै आएकी थिइन् । अन्ततः दिवंगत पति मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा उनले एमालेको सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेकी हुन् । सोही अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा आफ्ना पति तथा एमालेको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज)का प्रणेता मदन भण्डारीलाई सम्झँदै उनी भावुक बनेकी थिइन् । सम्बोधनका क्रममा उनले मदन भण्डारीको सपना साकार पार्न एमालेका नेताहरूसँगै आफू पनि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
‘जबजका तीन दशक’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले एमालेको पार्टी सदस्यता नवीकरण गरिसकेको पनि खुलासा गरेकी थिइन् । यसअघि कतिपय नेताहरूले भण्डारीको सदस्यता नवीकरण होल्ड गरिएको चर्चा गर्दै आएका थिए । उनका विरोधीले सदस्यता नवीकरण नगरी होल्ड गरेको र उनलाई सक्रिय राजनीतिमा फर्किनलाई रोक्न खोजिएको थियो ।
‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने
पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यको साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन् । उनले आफ्नो कुनै विशिष्ट आकांक्षा नरहेको, देश र जनताको हित आफ्नो लक्ष्य रहेको बताएकी थिइन् । उनले मदन भण्डारीले जनता भनेको भगवान हुन् भन्ने गरेको पनि स्मरण गरिन् । उनले मदन भण्डारीले ‘राजनीतिमा थकाइ’ भन्ने शब्द नहुने पनि भन्ने गरेको स्मरण गर्दै सक्रिय राजनीतिमा होमिएको स्पष्ट सन्देश दिइन् । एमालेको सदस्यता नवीकरण गर्दै पार्टीको राजनीतिक यात्रामा निरन्तरता दिने प्रतिबद्धता भण्डारीले व्यक्त गरिन् । ‘राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि, मैले नेकपा(एमाले) मा रही राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्, ‘म अब एमाले परिवारको एक सदस्यका रूपमा पुनः जोडिएको छु र यसमा गर्व गर्छु ।’
भावुक हुँदै उनले भनिन्, ‘जननेता मदन भण्डारीले भन्नुहुन्थ्यो– जनता नै भगवान हुन्, र राजनीतिमा थकाइ भन्ने हुँदैन । आज यहाँहरूका बीचमा उभिँदा मैले उहाँका ती भनाइहरूलाई स्मरण गरेको छु ।’
उनले राजनीतिक यात्राले आफूलाई धेरै कुरा सिकाएको र परिपक्व बनाएको बताउँदै भनिन्, ‘मदन भण्डारीका आदर्शलाई आत्मसात् गर्दै म समर्पित भावनाले अगाडि बढिरहेकी छु । यो यात्रामा मैले राजनीतिक उतारचढावबाट धेरै अनुभव प्राप्त गरेको छु ।’
कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीको दुःखद दुर्घटनाको प्रसंग उल्लेख गर्दै भावुक हुँदै भनिन्, ‘मदनका सपनाहरूलाई साकार पार्ने दिशामा अग्रसर तपाईँहरूको साथमा म पनि सधैँ रहनेछु ।’ उनले जबजको सिद्धान्तलाई जीवन्त राख्दै देश र जनताको समृद्धिका लागि निरन्तर लाग्ने प्रतिबद्धता दोहो¥याइन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलको चेतावनी
कार्यक्रममा सहभागी एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्रको द्वन्द्वको विधिसम्मत समाधान नखोजिए विस्फोट हुनसक्ने चेतावनी दिएका छन् । भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउँनखोज्ने नेताहरूमध्ये पोखरेल उच्च जिम्मेवारीमा रहेका नेता हुन् । पोखरेल जता गए उत्तै संस्थापन पक्ष हुने नेताहरूले चर्चा गर्दैआएका छन् । पार्टीभित्रको सीमारेखा नभत्काइकन पार्टीको विधान अधिवेशनसँग जोडिएका विषयमा बोल्न पाउनुपर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ थियो ।
‘बोल्ने बेला नै यही भएकाले बोल्न पाउनुपर्ने, बोल्नेको मुख थुन्न नहुने’ पोखरेलले बताए । भण्डारी मञ्चमा बसेर सुनिरहेका बेला पोखरेलले पार्टी जीवनको लोतान्त्रिकरण अहिले हराएर गएको स्मरण गर्दै यसलाई तलमाथि पार्न नमिल्ने चेतावनी समेत दिए । ‘कम्युनिस्ट पार्टीभित्र नेतृत्व अनिर्वाचित हुने, सत्ता हस्तान्तरण नगर्ने प्रवृति हटाउन जबजको सिद्धान्तको प्रयोग गर्नुपर्छ । पार्टीभित्रको द्वन्द्वलाई विधिसम्मत प्रकट हुन दिइएन भने विष्फोट हुन्छ । राजनीतिमा विधिसम्मत प्रकट हुन नपाए विद्रोह हुन्छ, विग्रह पैदा गर्छ ।
त्यस्तो अवस्थामा विग्रह विद्रोह गर्नेलाई मात्र दोष दिएर पुग्दैन । हाम्रा कार्यशैलीमा कहाँ कमजोरी छन् भन्ने विश्लेषण गर्न ुपर्छ । असन्तुष्टि निश्चित विन्दूमा पुगेपछि विस्फोट हुन्छ,’ पोखरेलले भने, ‘विचारका धेरै पक्षहरू कमजोर बने, त्यसपछि हामी के भयौँ भयौँ भन्ने स्थिति छ । त्यो एकता टुटेपछि एमाले नयाँ ढंगले अघि बढ्यो । पुनर्जीवन प्राप्त गरेपछि १० औँ महाधिवेशनमा घनीभूत छलफल भयो ।
विधान, संगठनात्मक र राजनीतिक प्रस्ताव पारित भयो । तीन दशकदेखिको छलफल बहस र अनुभवहरू समेटिएर निकालिएको निष्कर्ष छ ।’
उनले घुमाउरो भाषामा एमालेभित्र द्वन्द्व रहेको र यसलाई विधिसम्मत ढंगले समाधान नगरेमा विस्फोट र विद्रोह हुने चेतावनी दिए । जाने गएपनि किन गयो भन्ने कुरा जिम्मेवारीमा बसेकाले जवाफ दिनुपर्ने उनले बताए । ‘नेकपा एमालेको इन्साइड स्टोरी अब इन्साइड मात्रै रहँदैन, सबैले बुझ्ने जान्ने भएर जान्छ । यो कुरा सबैले बुझ्नु पर्छ । हामीले अध्यक्ष ओलीकै नेतृत्वमा पार्टी लोकतान्त्रिकरणको अभियान थालेका थियौं । तर त्यसले मान्यता पाएन,’ उनले भने ।
भण्डारीलाई रोक्न विधानमै हेरफेर !
एमालेको विधानमा ७० वर्षे उमेर हद राख्नुपर्ने र पालिकादेखि केन्द्रीय कमिटीमा पदाधिकारी दुई पटक भन्दा बढी एउटै पदमा बस्न नपाउने व्यवस्था’दयगत बहसको विषय बनेको छ । पार्टी विधानबाटै पदाधिकारीमा एउटै पदमा दुई पटकभन्दा बढी बस्न नपाउने धारा नै हटाइएको छ ।
एमालेमा दोस्रो विधान महाधिवेशन आगामी २०, २१ र २२ भदौमा हुने गरी मिति तोकिएको छ । पार्टीको हुने सो विधान महाधिवेशनले कसैलाई रोक्न सक्छ भने कसैका लागि सहज बनाउन सक्ने बताइएको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली तेस्रो कार्यकालका लागि अध्यक्ष हुन खोजेका छन् र भण्डारी पनि अगामी नेतृत्वका लागि दौडधुपमा रहेकी छन् ।
९औँ र १०औं महाधिवेशनबाट ओली दुई कार्यकाल अध्यक्ष भएका हुन् । ११औँ महाधिवेशनबाट ओली नै पुनः नेतृत्वमा तेस्रो कार्यकालका लागि आउन खोजेको स्वयं ओलीकै अभिव्यक्तिबाट प्रष्ट हुन्छ । यसअघि उनले पार्टीको विद्यार्थी संगठन अखिलको महाधिवेशनमा नेतृत्वका लागि आवश्यक्ताको आधारमा हुने भन्दै लामै व्याख्या गरेका थिए र मुलुक र पार्टीको आवश्यक्ताका आधारमा नेतृत्वमा आउने कुरा निर्धारण हुने जिकिर गरेका थिए । उमेरले होइन, स्वास्थ्यले साथ दिए हुन्छ, कार्यक्षमता भए पुग्छ भन्दै उनले उमेरहदको विपक्षमा वकालत गरिरहेका छन् ।
अहिले उमेरले ७४ पुगेका ओलीले यसअघि नै ७० वर्ष े उमेर हदबन्दी आफ्नै लागि हटाएका थिए । पार्टीको पहिलो विधान अधिवेशनबाट पारित भएको पालिकादेदि केन्द्रसम्म एकै व्यक्ति एउटै पदमा दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था पारित गरेको थियो । तर पार्टीको विधानबाट सो व्यवस्था हटाइएको छ ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले केही नेतालाई पार्टीमा ल्याउनुपर्ने कारण देखाएर १९ जेठ २०८० मा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद निलम्बन गर्ने निर्णय भएको बताइन् । तर पार्टी विधानबाटै हटाउने निर्णय भने नभएको उनले बताइन् । पार्टी विधानमा पालिकादेखि केन्द्रसम्म दुई कार्यकाल पदाधिकारी बस्न नपाउने व्यवस्था यथावत नै रहेको थियो ।
तर विधान महाधिवेशनबाट पारित विधानको धारा ६४ को १ नंं बुँदा अहिले गायब भएको हो । एमालेको आधिकारिक वेबसाइटमा राखेको विधानमा उक्त बुँदा देखिएको छैन । उक्त बुँदामा एमालेमा कुनै पनि पदाधिकारी दुई कार्यकालभन्दा बढी नेतृत्वमा रहन नपाउने व्यवस्था थियो ।
एउटै व्यक्ति एउटै पदमा दुई कार्यकाल रहन नपाउने व्यवस्था भए ओलीसहित केही नेता तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा नै गर्न पाउँदैनन् । अध्यक्षमा ओलीको दोस्रो कार्यकाल रहेकाले ११ औ ँ महाधिवेशनबाट उनी तेस्रो कार्यकालका लागि अध्यक्ष हुन पाउँदैनन् । तर विधानमा सो व्यवस्था नभएपछि ओली पनि तेस्रो कार्यकालका लागि आउनसक्ने छन् ।
सोही विषयलाई इंगित गर्दै पोखरेलले पार्टी विधानको ’दयगतमा बोल्न पाउने विषय खुला गर्नुपर्ने बताए । उमेर हदबन्दी र पदाधिकारीमा दुई कार्यकालभन्दा बढी आउन मिल्ने नमिल्ने ’दयगतमा विधान महाधिवेशनमा कुरा उठ्ने निश्चित छ । भण्डारी निकट नेताहरू ७० वर्षे उमेर हदबन्दीसहित पदाधिकारीमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्थाको पक्षमा उभिादै आएका छन् । ओली अहिले ७४ वर्ष र भण्डारी ६४ वर्षको भइसकेका छन् ।
बिचैमा हिँडे ओली
कार्यक्रम प्रमुख अतिथिमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली थिए । फाउन्डेसन संरक्षकसमेत रहेका ओली कार्यक्रममा ढिला पुगे । तर, कार्यक्रम चल्दैगर्दा बीचैमा छोडेर हिँडे । कार्यक्रममा ओली र भण्डारी मुख्य वक्ताका रूपमा थिए । शनिबार नै स्पेनतर्फ जानुपर्ने भएकाले प्रधानमन्त्री ओली हतारमा थिए, र आफ्नो मन्तव्य राखेर हि“ड्नुपरेको आयोजकको भनाइ छ । शनिबार साँझ स्पेन प्रस्थान गर्ने कार्यक्रम देखाएर ओली भण्डारीको भाषण नै नसुनी हिँडेका थिए ।
ओली हिँडेपछि कार्यक्रममा सहभागी नेताकार्यकर्ताले असन्तुष्टि पोखेका थिए । ‘अहिले ५ बजे एयरपोर्ट पुग्नुपर्ने छ । सम्माननीय पूर्वराष्ट्रपतिज्युले मेरा पनि कुरा सुन्नुहोस् न भन्नुहुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईँ राम्रो बोल्नुहुन्छ भन्ने मलाई थाहा छ । उहिल्यैदेखि सुन्दै आएको ।’ आज मात्रै सुन्नुपर्ने अवस्था भए बस्नुपर्ने हुने भए पनि त्यसो नभएको उनले बताए ।
‘अब आज मात्रै सुन्नुपर्ने होइन, उहिल्यैदेखि सुन्दै आएकै हो । त्यसकारण सुन्दै आएको छु राम्रै छ,’ ओलीले भने । यस्तै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि राम्रै बोल्नुभएकाले बोल्नु नपर्ने उनले बताए । ‘ईश्वर कमरेड सधै राम्रो बोल्नुहुन्छ । त्यसो भएर मलाई थाहा छ, के बोल्नुहुन्छ । त्यसो भएर मैले सुन्न बस्नुपर्दैन । समय नभएर हतार भएकाले इजाजत मागेको थिएँ ।’
कार्यक्रममा मन्तव्यको दौरानमै ओलीले आफूलाई भण्डारीले कुरा सुनेर जान आग्रह गरेको खुलासा गरेका थिए । उनले भण्डारीले राम्रो बोल्दै आएको र आज पनि राम्रै बोल्ने विश्वास रहेको कुरा ठट्यौली शैलीमा भन्दै उनी बाहिरिएका थिए ।
‘मदन भण्डारीको जन्म जयन्तीसँग हामीले राष्ट्रिय वृक्षारोपण कार्यक्रम गर्दै वातावरणमैत्री कार्यक्रम गरेका छौं । तर कतिपयले वृक्षारोपण कार्यक्रम भनेपछि यो कार्यक्रम भाँडिन्छ भनेर पनि लेखे,’ ओलीले भने, ‘एमाले जहाँ छ, एमाले निकटका संगठनको कार्यक्रम भाँडिन्छ रु म आउने र विद्या भण्डारी आउने कसरी भाँडिन्छ रु यस्तो विश्लेषण गर्ने रु कुनै बम बारुद, पड्कँदैन । एमाले एक छ, एकजुट भएर बस्छ । कुनै आश नगरे हुन्छ ।’
सो कार्यक्रममार्फत एमालेभित्र ठूलो विग्रह ल्याउने रूपमा बुझ्दै भण्डारी र ओलीले कार्यक्रममा झगडा गर्ने भनेर चर्चा गरिएकोमा उनले असन्तुष्टि व्यक्त गरे । भण्डारीलाई लक्षित गर्दै ओलीले भने, ‘जनताको बहुदलीय जनवादको पृष्ठभूमि या त्यसको आधारको विचारहरू तय गर्ने कुरामा मदन भण्डारीको अगुवाइ थियो । मदन भण्डारी महासचिव बन्ने कुरामा मदन भण्डारीको अगुवाइ थिएन, हाम्रो अगुवाइ थियो, अरु साथीहरूको अगुवाइ थियो । मदन भण्डारीले म बन्छु भन्नुभएको थिएन, हामीले नै बनाएका थियौं । छलफल, विश्लेषण गरेर, निष्कर्ष निकालेर हामीले बनाएका थियौं । त्यस कुरामा आम रुपमा भन्ने हो भने एउटा सहमतिको वातारण नै बनेको थियो र उहाँ महासचिव हुनुभएको थियो ।’
एमालेका तत्कालीन महासचिव जननेता भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ३ जेठ २०५० सालमा चितवनको दासढुंगामा सवारी दुर्घटनामा निधन भएको थियो । यो खबर राजधानीबाट लिएका हौ ।

