Headlineसमाचार

इँटाभट्टा काण्डबाट रिहा भएका पूर्वमन्त्री आलमलाई स्ट्रोक, आईसीयूमा भर्ना

Sharing is caring!

जेठ १६, २०८२ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई गम्भीर किसिमको स्ट्रोक आएपछि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनलाई दायाँ शरीर पक्षमा कमजोरी तथा बोली अस्पष्ट हुने समस्या देखिएपछि तुरुन्त अस्पताल भर्ना गरिएको हो।

चिकित्सकहरूले उनलाई एक्युट इस्केमिक स्ट्रोक भएको पुष्टि गरेका छन्। अहिले उनी चिकित्सकीय निगरानीमा छन् भने अवस्था स्थिर रहेको जनाइएको छ। आलमको परिवारका अनुसार केही दिन अस्पतालमै राखेर थप परीक्षण र उपचार गरिनेछ।

अलाम केही दिनअघि मात्रै उच्च अदालत पाटनको आदेशपछि बहुचर्चित इँटाभट्टा विस्फोट घटनाबाट रिहा भएका थिए। २०६५ सालमा रौतहटमा भएको उक्त घटनामा घाइते भएका व्यक्तिहरूलाई जिउँदै इँटाभट्टामा हालिएको आरोपमा उनलाई पक्राउ गरिएको थियो।

जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै आजीवन कैदको सजाय सुनाएको थियो। तर उच्च अदालतले पर्याप्त प्रमाण नभएको निष्कर्ष निकाल्दै फैसला उल्टाएको हो। अदालतको उक्त निर्णयले सार्वजनिक तहमा आलोचना निम्त्याएको थियो भने पीडित पक्षले न्याय मरेको भन्दै विरोध जनाएका थिए।

अदालतको फैसला आएको केही दिनमै उनको स्वास्थ्यमा देखिएको गम्भीर समस्या संयोग मात्रै हो वा मानसिक दबाबको प्रभाव भन्ने विषयमा विभिन्न अड्कलबाजी भइरहेका छन्। सामाजिक सञ्जालमा कतिपयले राजनीतिक हस्तक्षेपले कानुनी निर्णय प्रभावित भएको भन्दै टिप्पणी गरेका छन्।

यता, नेपाली कांग्रेसका नेताहरूले आलमको स्वास्थ्यलाभको कामना गर्दै निजी विषयमा सार्वजनिक टिप्पणी नगर्ने नीति अपनाएका छन्। एक नेताका अनुसार चिकित्सकहरूले अवस्थालाई नियन्त्रणमा राख्न सकेका छन् र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *