पूर्वराजा ज्ञानेन्द्रले भने- जम्मु-कश्मीरमा हिन्दूमाथि भएको आक्रमण निन्दनीय
वैशाख १३, २०८२ । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको आतङ्ककारी आक्रमणमा ज्यान गुमाएकाहरूप्रति पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले गहिरो समवेदना व्यक्त गरेका छन्।
उनले घटनामा एक नेपाली नागरिकसहित ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारहरूप्रति आत्मीय समवेदना प्रकट गरेका हुन्।
पूर्वराजाले सोमबार जारी गरेको समवेदनामा ‘बसुधैव कुटुम्बकम्’ को आदर्शले मानवता र शान्तिको उच्च मूल्याङ्कन गर्ने सनातनी वैदिक हिन्दू धर्मदर्शनमा यस्ता आतङ्ककारी गतिविधिहरूले घोर अपमान गरेको उल्लेख छ। उनले सम्पूर्ण विश्व समुदाय र हिन्दू समाजले यस्ता घटनाको एकस्वरमा भर्त्सना गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
‘धर्मका नाममा गरिने निर्दोष हत्यालाई कुनै धर्मले समर्थन गर्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता घटनाहरूको सबैबाट भर्त्सना र निन्दा हुनु जरुरी छ।’ साथै पूर्वराजाले मित्र राष्ट्र भारत सरकारप्रति पनि दुःख व्यक्त गर्दै गहिरो सहानुभूति प्रकट गरेका छन्।
पूर्वराजा ज्ञानेन्द्रले २०८२ साल वैशाख १२ गते मिति उल्लेख गर्दै समवेदनासहित आफ्नो धारणा सार्वजनिक गरेका हुन्। विज्ञप्ति डा. फणिराज पाठकले सम्बाद सचिवका हैसियतमा जारी गरेका छन्।


