अखवार

सरकारी कागजात कीर्ते गरी नक्कली बनाउने गिरोह पक्राउ

Sharing is caring!


जेठ २, २०८२ । सरकारी, वित्तीय तथा शैक्षिक संस्थाहरूका कागजात कीर्ते गरी नक्कली बनाउने संगठित गिरोह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाउने गिरोहका मुख्य नाइकेसहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार काठमाडौंको तारकेश्वर नगरपालिका– ७, फुटुङबाट उनीहरूलाई विभिन्न नक्कली कागजात र त्यस कार्यमा प्रयोग हुने उपकरणसहित नियन्त्रणमा लिएर बिहीबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मुख्य योजनाकार गोरखा भीमसेन थापा गाउँपालिका– १, मसेल घर भई हाल काठमाडौं तारकेश्वर– २, देवीचोक बस्ने ४६ वर्षीय अन्जनी बयलकोटी छन् । उनीसँगै ओखलढुंगा चम्पादेवी गाउँपालिका– ७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुर कैलाश गाउँपालिका– २, छ्याङ्ढुङ्की २३ वर्षीया अन्जु खत्री पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बयलकोटीले विगत ८ वर्षदेखि फुटुङमा कोठा भाडामा लिई मासिक १० हजारदेखि १५ हजार रुपैयाँसम्म तलब दिएर २ जना सहयोगीमार्फत नक्कली कागजात डिजाइन तथा तयार गर्ने अवैध कार्यालय संचालन गर्दै आएका थिए ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले विभिन्न सरकारी कार्यालय, स्थानीय तहका सिफारिस, शैक्षिक प्रमाणपत्र (माइग्रेसन, क्यारेक्टर, ट्रान्सक्रिप्ट, प्रोभिजनल), जग्गाधनी पुर्जा, सवारी चालक अनुमतिपत्र, विवाह दर्ता प्रमाणपत्र, नाता प्रमाणित प्रमाणपत्रलगायतका महत्त्वपूर्ण कागजातहरू कीर्ते गरी नक्कली बनाउने गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।

विशेषगरी ‘डिपेन्डेन्ट भिसा’ प्रयोजनका लागि नक्कली विवाह दर्ता प्रमाणपत्र, बैंकबाट ऋण लिन नक्कली जग्गाधनी पुर्जा र जापानमा विद्यार्थी भिसामा जानेहरूका लागि सहकारी संस्थाको नक्कली बैंक स्टेटमेन्ट बनाएर कुरियरमार्फत पठाउने गरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीहरूको साथबाट ४२ थान माइग्रेसन सर्टिफिकेट, ६० थान क्यारेक्टर सर्टिफिकेट, ११० थान एकेडेमिक ट्रान्सक्रिप्ट, ५ थान विवाह दर्ता प्रमाणपत्र, ५० थान प्रोभिजनल सर्टिफिकेट, १० थान जग्गाधनी पुर्जा, विभिन्न १७ वटा सहकारी संस्थाका लेटरप्याड, वार्षिक आय प्रमाणीकरण पत्र, विभिन्न बैंक तथा सहकारीका सयौं पाना स्टेटमेन्ट, विभिन्न स्वास्थ्य संस्थाका सिफारिसपत्र बरामद गरेको छ ।

यसैगरी, विभिन्न सरकारी, गैरसरकारी, संघसंस्था तथा पार्टीका र व्यक्तिगत दस्तखतसमेत गरी ३५५ थान तयारी र १५० थान खाली स्ट्याम्प ९छाप०, लेमिनेसन मेसिन, हिटिङ मेसिन, डाई कटर मेसिन, स्ट्याम्प बनाउने मेसिन, २ थान मोनिटर, २ थान सीपीयू, २ थान की बोर्ड, २ थान माउस, ३ थान प्रिन्टर, विभिन्न कम्पनीका ७ थान मोबाइल र विभिन्न अस्पतालका मेडिकल कार्डसमेत बरामद गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ यो खबर मध्यान्हबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *