स्थिर सरकारका लागि पहिलो र दोस्रो दल मिलेका हौं : सभापति देउवा
साउन ६, २०८१ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्थिरताका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिलेर सरकार गठन गरेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले, देश विकासको लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी रहेको भन्दै स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन गरेको बताएका हुन् ।
उनले भने,‘प्रगति हासिल गर्नाका साथै निराशालाई आशामा बदल्ने प्रयासमा हुनेछौं । सरकारले जनतामा आशा र भरोसा जागृत गर्नेछ भन्ने मैले विश्वास लिएको छु । देश विकासको लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी छ । आजको संसदको संरचनालाई हेर्दा स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन भएको छ ।’
सभापति देउवाले वर्तमान सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने दाबी गरे । उनले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्पm अग्रसर गराउन आवश्यक रहेको भन्दै संविधानका सवल तथा दुर्वल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वभाविक अभ्यास भएको पनि बताए ।
उनले भने,‘वर्तमान सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउनेछ, मुलुकमा दिगो शान्ति कायम गर्दै गतिशिल अर्थतन्त्रका माध्यमबाट देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्नेछ । यसबाट राजश्वमा थप वृद्धि भइ जनचाहना अनुसारका विकास निर्माणका काम गर्न पनि सकिनेछ । भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्पm अग्रसर गराउन आवश्यक छ । संविधान प्रारम्भ भएको आठ वर्ष पुरा भएको छ । यसका सवल तथा दुर्वल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वभाविक अभ्यास हो ।’
वर्तमान सरकारले विधिको शासन, संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुनहरुको निर्माण, लगानीको उचित वातावरण तयार पार्दै आर्थिक शिथिलतालाई गतिशिल बनाउँदै रोजगारीका थप अवसरहरुको सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

