देशसमाचार

शिक्षक आन्दोलनमा बाराका संगठनहरूको ऐक्यबद्धता, वैशाख ३ को प्रदर्शनमा व्यापक सहभागिताको आह्वान

Sharing is caring!

वैशाख १, २०८२ । काठमाडौंमा जारी शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै बाराका पाँच शिक्षक तथा विद्यालय कर्मचारी संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। जिल्ला आन्दोलन परिचालन समिति, बाराले उक्त विज्ञप्ति मार्फत सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, पत्रकार, नागरिक समाज तथा राजनीतिक दलहरूलाई आन्दोलनमा साथ दिन आग्रह गरेको छ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा सुरु भएको आन्दोलनले १३ औं दिन पार गर्दा पनि सरकारले समस्याको समाधानतर्फ कुनै सार्थक पहल नगरेको भन्दै विज्ञप्तिमा खेद व्यक्त गरिएको छ। आन्दोलनलाई थप प्रभावकारी बनाउँदै शिक्षकमाथिको अन्यायको विरुद्ध स्पष्ट र दृढ आवाज उठाउनुको विकल्प नरहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा वैशाख ३ गते आयोजना हुने “मेरो आन्दोलन, मेरो सहभागिता” भन्ने मूल नारासहितको प्रदर्शनमा अधिकतम उपस्थिति सुनिश्चित गर्न अपिल गरिएको छ। साथै कक्षा १२ र एसईई परीक्षालाई ध्यानमा राखी परीक्षा प्रभावित नहुने गरी आन्दोलन सञ्चालन गरिने स्पष्ट गरिएको छ।

संयुक्त अपिलमा नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन, संयुक्त शिक्षक फोरम र विद्यालय कर्मचारी युनियन बाराका अध्यक्षहरूको हस्ताक्षर रहेको छ।

शिक्षकहरूप्रति न्याय र अधिकार सुनिश्चित गर्न यस आन्दोलनमा सबैको सक्रिय साथ आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *