मुठभेडतर्फ संसद्, कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल
जेठ ४, २०८१ । सभामुख देवराज घिमिरेले निष्पक्ष र सुझबुझ ढंगले जिम्मेवारी निर्वाह नगर्दा संघीय संसद् प्रतिनिधि सभामा तनावको स्थिति सिर्जना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधबीच सभामुख घिमिरेले कार्यसूची अघि बढाएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको हो ।
विपक्षी दल कांग्रेसका सांसदहरूको नाराबाजी र वेल घेराउबीच सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण भएर आएको पत्र पढेर सुनाउनुभएको थियो । पहिलो पत्र पढेर अर्को पत्रमा प्रवेश गर्न लागेपछि कांग्रेस सांसदहरूले चर्का नाराबाजी गरेपछि सभामुख घिमिरे रोकिनुभयो । कांग्रेसको विरोधबीच सभामुख अघि बढ्न खोजेपछि राप्रपा र लोसपाका सांसदहरूले पनि उभिएर विरोध गरे । कांग्रेस सांसदहरूले जबरजस्ती बन्द गर्न भन्दै पनि नाराबाजी गरेका थिए । उनीहरूले संसदीय मर्यादा कायम गर्न पनि माग गरेका छन् ।
सहकारी ठगलाई कारबाही गर्न भन्दै कांग्रेस सांसदहरूले नाराबाजी गरे । सांसदहरूले केहीबेर नाराबाजी गरेपछि सभामुख घिमिरेले राष्ट्रपतिले पठाएको दोस्रो पत्र वैशाख ३१ मा मन्त्री र राज्यमन्त्री नियुक्तिको पत्र पढेर कार्यसूची अघि बढाउनुभयो ।
राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेलगत्तै सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि बैठक तनावग्रस्त बन्यो । कांग्रेसका सांसदहरूले लामिछानेलाई रोष्ट्रममा जान रोकिरहेको बेला एमाले सांसदहरू पनि सिटबाट उठेर बाटो खुलाउन अघि सरे । एमाले संसदीय दलका नेता केपी शर्मा ओली नै बाटो खुलाउन अघि सरेपछि सांसदहरूबीच धकेलाधकेलको अवस्था आएको थियो । त्यसक्रममा एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएका सांसद धनराज गुरुङ भनाभनमा उत्रिनुभयो ।
बिहीबार नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूले वेल घेरेर नाराबाजी गरिरहेको समयमा सभामुखले बैठक सञ्चालन गरेपछि प्रतिपक्ष थप उत्तेजित बनेको हो । त्यसक्रममै सभामुखले गृहमन्त्री लामिछानेलाई बोल्नका लागि समय दिएर वातावरण थप जटिल बनाउन भूमिका खेल्नुभएको छ । सांसदहरूबीच धकेलाधकेल जारी रहेपछि सभामुख घिमिरेले आज (शुक्रबार) बिहान ११ बजे सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएको छ । यो खबर हिमालय टाईम्सबाट लिएका हौ ।

