अखवार

प्रलोभनमा परी वैदेशिक रोजगारीका नाममा ठगिने गर्ने क्रम बढ्दो

Sharing is caring!

वैशाख २०, २०८१ । रुपन्देही मुर्गियाका चित्रबहादुर सुनारको फेसबुक म्यासेन्जरमा अपरिचित व्यक्तिबाट एक भिडियो सन्देश आयो । सन्देशमा कम्बोडियामा सुरक्षा गार्डका लागि मासिक आठ सय अमेरिकी डलर (एक लाख रुपियाँभन्दा बढी) कमाइ हुने सूचना थियो ।

सन्देश पठाउने पोखरा कास्की घर भई कम्बोडिया बस्ने अनिल गुरुङले कागजपत्रसहित दुई लाख रुपियाँ पठाए भिसा र हवाई टिकट पठाउने बताए । चित्रले नवलपरासी बर्दघाटका दीपक सुनारको पनि पासपोर्ट र कागजपत्र गुरुङलाई पठाए । गुरुङले तोकेको व्यक्तिको बैङ्क खातामा दुई दुई लाख रुपियाँ पठाई दिए ।

गुरुङले १५ दिनमै दीपक र चित्रको नाममा भिसा र हवाई टिकट पठाइदिए । परिवार र आफन्तबाट बिदा भई विदेश जान यही वैशाख ७ गते बिहान ११:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका दीपक र चित्रलाई हवाई कम्पनी र अध्यागमनले उड्ने अनुमति दिएन ।

दुवै जनाको टिकट र भिसा नक्कली थियो । दुवैले अनिल गुरुङलाई मोबाइलमा सम्पर्क गर्ने प्रयास गर्दा गुरुङ भने सुनारद्वयबाट सम्पर्कविहीन भइसकेका थिए । यसैबिच अर्को घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौँको मैतीदेवीस्थित गोल्ड माइन कन्सल्टेन्सीका सञ्चालक काठमाडौँकी मञ्जु रानामगर र ओखलढुङ्गा खिजीदेम्बाकी तीर्थमाया कार्कीलाई पक्राउ ग¥यो । कन्सल्टेन्सीको आवरणमा चेक रिपब्लिक र सर्बिया पठाउने भनी दुवैले २३ जना पीडितको एक करोड ३६ लाख रुपियाँ ठगेको प्रहरीको दाबी छ ।

भिजा प्लस प्रालि नामक शैक्षिक परामर्श कम्पनीमार्फत न्युजिल्यान्डलगायतका मुलुकमा पठाउने भन्दै ४२२ जनाको झन्डै तीन करोड रुपियाँ ठगी गर्ने धादिङको धुनिबेँसी–४ का जिवा गौतम र कालीकोटको छाप्रे–६ का दर्शन नेपालीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पोल्यान्ड, डेनमार्क, स्पेनलगायतका युरोपेली मुलुकमा पठाउने भन्दै ठग्ने भोजपुरको टेम्के मैयुङ­­–३ का सङ्घर्ष राई, रुसी सेनामा भर्ना गरिदिने भन्दै ठग्ने मुगु खत्याड­­–८ का नमराज रावत, स्पेन पठाउने भन्दै आठ जनाको ५६ लाख रुपियाँ ठग्ने झापा दमक–५ का विजय भण्डारी, क्यानडाको प्रलोभन देखाएर ६८ लाख ठग्ने सुनसरी इनरुवा–३ का सत्यन्द्र श्रेष्ठ, सर्लाही हरिवन–९ का रूपेशकुमार ठाकुर, बरथहा–३ का कृष्णबहादुर राईलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पछिल्लो एक महिनामा वैदेशिक रोजगारीका नाममा भएको ठगीका यी केही घटना हुन् । सामाजिक सञ्जाल, टेलिफोन, भाइबर र ह्वाट्सएपमा सन्देश पठाई बेरोजगार युवालाई प्रलोभनमा पारी दर्ता नभएका संस्था र परिचयै नखुलेका व्यक्ति वा समूहको प्रलोभनमा परी वैदेशिक रोजगारीका नाममा दैनिक सयौँ युवा ठगिने गर्ने क्रम बढ्दो छ । उपत्यका अराध अनुसन्धान कार्यालय अन्तर्गत वैदेशिक रोजगार ठगीविरुद्ध अनुसन्धान गर्ने पिलर नम्बर–८ का प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीका अनुसार सामाजिक सञ्जालमा देखिने सन्देशलाई सहजै विश्वास गरी अपरिचित व्यक्तिमार्फत ठगिनेको सङ्ख्या बढ्दो छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा वैदेशिक रोजगार ठगीका घटना झन्डै चार गुणाले बढेको देखाएको छ । आर्थिक वर्ष २०७८-७९ मा १२७ जना पीडितले आफू ठगिएको निवेदन दर्ता गराएका थिए । चालु आर्थिक वर्षको नौ महिनामा मात्र यसको सङ्ख्या बढेर ४५४ पुगेको छ । आव २०७८-७९ वैदेशिक रोजगारमा ठगी गर्ने १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा पाँच जना मात्र पक्राउ परेका थिए ।

चालु आवको नौ महिनामा मात्र ६७४ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी भएकामा २८५ जना आरोपी पक्राउ परेका छन् । पन्थीका अनुसार यस वर्ष मात्र दुई हजार १४२ जना पीडितको उजुरी सम्बोधन भई कानुनी प्रक्रिया अघि बढेको छ ।

अनुसन्धान र कारबाही जटिल

मुलुकमा बढ्दो बेरोजगार समस्या र सूचना प्रविधिको विकास र सहज पहुँचका कारण एक देशमा बसेर अर्को देशका युवालाई प्रलोभनमा पार्ने र वैदेशिक रोजगारीका नाममा ठगी गर्ने क्रम बढ्दो छ ।

फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, भाइबरमार्फत आकर्षक भिडियो तथा अडियो सन्देश तयार गर्ने र रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने क्रम बढ्दो छ । कतिपय गलत विवरण राखी खोलिएका यस्ता सामाजिक सञ्जालमार्फत ठग्नेलाई कानुनी दायरामा ल्याउन पनि कठिन रहेको प्रहरी उपरीक्षक पन्थी बताउनुहुन्छ । यो खबर गोरखापत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *