Headlineसमाचार

प्रधानमन्त्री ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घको सात बुँदे सुझावपत्र

Sharing is caring!

जेठ २१, २०८२ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि, राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन सम्बन्धी सात बुँदे सुझाव पेश गरेको छ ।

महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) उक्त सुझावपत्र बुझाएको हो । प्रतिनिधिमण्डलले चालु आर्थिक अवस्थालाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेटमा निर्यात व्यवसायलाई विशेष प्राथमिकता दिन आग्रह गरेको छ ।

महासङ्घको तर्फबाट प्रस्तुत सुझावमा प्रमुख रूपमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माण कार्यलाई तीव्रता दिनुपर्ने, विदेशी लगानी र पर्यटक आकर्षणका लागि सन् २०२६ देखि २०३० सम्मलाई ‘निर्यात वर्ष’को रूपमा घोषणा गर्नुपर्ने लगायतका विषय समावेश छन् । महासङ्घले सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्यलाई सुदृढ बनाउँदै निर्यातमुखी नीतिहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।

प्रधानमन्त्री ओलीले सुझावहरू ग्रहण गर्दै महासङ्घको नयाँ नेतृत्वलाई बधाई दिएका छन् । उनले सरकार आर्थिक वृद्धि, रोजगारी सृजना र पर्यटन प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताउँदै निर्यात व्यवसायीहरूका उपयोगी सुझावलाई गम्भीरतापूर्वक लिने आश्वासन दिए ।

प्रधानमन्त्रीले विद्यमान चुनौतीबीच पनि व्यवहारिक र सम्भव उपायहरूमा साझा पहल आवश्यक रहेको उल्लेख गर्दै सरकार–निजी क्षेत्र सहकार्यमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *