Headlineसमाचार

जातीय विभेद अन्त्य कानुनी कार्यान्वयनबिना सम्भव छैन : पूर्व मन्त्री गुरुङ

Sharing is caring!


जेठ २१, २०८२ । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व कानुन मन्त्री धनराज गुरुङले जातीय विभेद अन्त्यका लागि कानुनलाई कडाइका साथ लागू नगरेसम्म त्यसको अन्त्य सम्भव नहुने बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै गुरुङले विभेद गर्ने जोकोहीलाई कानुनअनुसार दण्डित नगरेसम्म यो समस्या नारामै सिमित हुने स्पष्ट पारेका हुन् ।

“जबसम्म राज्यले जातको नाममा विभेद गर्नेलाई कानून बमोजिम दण्डित गर्दैन, तबसम्म जातीय विभेद उन्मूलन नारामा मात्र सिमित हुन्छ,” गुरुङले लेखेका छन् ।

उनले जातका आधारमा मान्छे ठूलो वा सानो नहुने सन्देश समाजभर फैलाउनु आवश्यक रहेको समेत औँल्याएका छन् । “जातले मान्छे ठूलो र सानो कदापि हुँदैन भन्ने चेतना सबैमा आओस् भन्ने कामना गर्दछु,” गुरुङले उल्लेख गरेका छन् ।

संविधानले जातीय भेदभाव र छुवाछूतलाई आपराधिक कार्यको रूपमा परिभाषित गरिसकेको भए पनि व्यवहारमा यसको पूर्ण कार्यान्वयन नहुँदा विभेदका घटनाहरू यथावत् रहेको अधिकारकर्मीहरू बताउँछन् ।

सरकारले प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’का रूपमा मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *