दुग्ध विकास संस्थानमा कर्मचारी आन्दोलित, कर्मचारी संगठनद्वारा कारबाहीको माग
वैशाख १२, २०८२ । दुग्ध विकास संस्थानमा कर्मचारीहरु आन्दोलित भएका छन् । नेकपा एमालेका भातृ संगठन दुग्ध विकास संस्थान कर्मचारी संगठन नेपाल र नेकपा माओवादी केन्दका भातृ संगठन राष्ट्रिय कर्मचारी संगठन नेपाल तथा नेकपा (माओवादी ) ‘विपल्व’ पार्टीका नेपाल राष्ट्रिय कर्मचारी संगठन लगाएत कर्मचारीहरु कारवाहीको माग गर्दै आज (शुक्रवार) केन्द्रीय कार्यालय लैनचौरमा नाराबाजी गरेका छन् ।
नेपालका ग्रामीण क्षेत्रका पशुपालन कृषकहरूबाट संकलन गरिएको दूधको व्यवस्थापन र बजारिकरणमा लामो समयदेखि उठ्दै आएको असन्तोषले नयाँ मोड लिएको छ। दुग्ध विकास संस्थानमा देखिएको अनियमितता, दुर्व्यवस्था र भ्रष्टाचारका विरुद्ध संस्थानभित्रका दुई प्रमुख कर्मचारी संगठनहरूले सार्वजनिक रूपमा आपत्ति जनाएका छन्।
दुई कर्मचारी संगठनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै संस्थानभित्र व्याप्त विकृति र दुर्व्यवस्थाको कडा विरोध गरेका हुन्। दुबै संगठनले सरकारी स्वामित्वमा रहेका संस्थानमा निजी तथा संस्थागत स्वार्थको घालमेलले संस्थानको छवि र कार्यक्षमतामा प्रतिकूल असर पारेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनेका छन् कि दूध तथा दुग्ध पदार्थ विक्रि-वितरण प्रणालीमा हुने गैरकानुनी कार्य, अफवाह फैलाउने प्रवृत्ति र संस्थानको विरुद्ध सञ्चार माध्यममा भइरहेको योजनाबद्ध प्रचारको कडा शब्दमा विरोध गरिएको छ। यी गतिविधिहरूले केवल संस्थानको साख मात्र नभई समग्र राष्ट्रिय दुग्ध उद्योगलाई नै कमजोर बनाइरहेको संगठनहरूको आरोप छ।
साथै, संस्थानका पूर्व आयोजना प्रमुख गणेश कुमार यादवको नाम विशेष रूपमा उल्लेख गर्दै गम्भीर अनियमितताको आरोप सार्वजनिक गरिएको छ। नेपाली कांग्रेसका भ्रातृ संगठनका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका यादवको शैक्षिक योग्यता १२ कक्षा (आइएस्सी) सम्म मात्र रहेको तथ्य उजागर भएपछि उनको नियुक्ति प्रक्रिया र कार्यक्षमतामाथि समेत गम्भीर प्रश्न उठेको छ।
पूर्व आयोजना प्रमुख यादवले काठमाडौं दुग्ध वितरण आयोजना बलाजु लगायतका महत्वपूर्ण जिम्मेवारीहरू सम्हालेका थिए। तर, ११ वर्षे कार्यकालमा उनले निजी स्वार्थसहित संस्थानका स्रोतसाधनको दुरुपयोग गर्दै करोडौँ रुपैयाँ अनियमित कारोबारमा संलग्न रहेको संगठनहरूको आरोप छ। संगठनहरूले सार्वजनिक गरेको विवरण अनुसार, यादवले विभिन्न डेरीहरूसँग मिलेर नियोजित रूपमा दूध वितरण प्रणालीमा गम्भीर भ्रष्टाचार गरेका छन्।
सीसीटीभी फुटेजमा यादवले स्वयं गैरकानुनी रुपमा कम तौल भएको दुध पाकेट डी.डी.सी. को आफ्नै बुथमा लगेको प्रत्यक्ष संलग्न देखिएको छ। संस्थान भित्रैबाट खराब नियतवश कम तौल दूध पाकेट अवैध रूपमा बाहिर पठाउने कार्यमा उच्चपदस्थ अधिकारीहरूको समेत संलग्नता देखिएको कर्मचारी संगठनको दाबी छ। निजी डेरीहरूलाई संरक्षण दिँदै सार्वजनिक सम्पत्तिको दोहन गरिएको ठोस प्रमाणका आधारमा करोडौँको अवैध कारोबार सञ्चालन भएको सीसीटीभी फुटेजबाट प्रमाणित हुन्छ।
यस्ता गतिविधिले ग्रामिण क्षेत्रका लाखौं किसानहरूले उत्पादन गरेका दूधलाई उचित मूल्यमा बिक्री गर्न नसक्दा बेलाबेलामा आन्दोलन गर्ने गरेका छन्। धेरै किसानले त दूध फाल्नु पर्ने अवस्था सामना गरिरहेका छन्, तर जिम्मेवार पदमा बसेका व्यक्तिहरू संस्थागत भ्रष्टाचारमा लिप्त रहनु दु:खद पक्षका रूपमा देखिएको छ।
दुग्ध विकास संस्थान कर्मचारी संगठन नेपालद्वारा जारी विज्ञप्तिमा संस्थाको साख र विश्वसनीयता कायम गर्न विक्रेताहरूलाई अनुगमन गर्न, दोषीलाई कारबाही गर्न र आन्तरिक संरचना सुधार्न सरकारसंग माग गरिएको छ। साथै, संस्थानका कर्मचारीहरूलाई अनुशासित रहन र संस्थानको प्रतिष्ठा जोगाउन सचेत गराइएको छ।
त्यस्तै, राष्ट्रिय कर्मचारी संगठन नेपालले पनि दोषीमाथि कडा कानूनी कारबाही गर्न, व्यवस्थापन प्रणालीमा व्यापक सुधार ल्याउन र यस्ता विकृतिहरू दोहोरिन नदिन व्यवस्थापनसंग मांग गरिएको छ । उनीहरूले संस्थानभित्रका उच्चपदस्थ अधिकारीहरूको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाएका छन्।
साथै, नेकपा (माओवादी) ’विपल्व’ पार्टीका भातृ संगठन, राष्ट्रिय कर्मचारी संगठनको समेत आन्दोलनमा एकबद्धता रहेको जनाएको छ।



