अखवार

बाह्रैमास कर्मचारी सरुवा

Sharing is caring!

जेठ ५, २०८१ । सरकारले गत वैशाख २७ गते ६० सहसचिवको सरुवा गर्‍यो । वैशाख १३ मा दुई सचिव र २८ सहसचिवको सरुवा गरेको छ । त्यसअघि चैत ३० गते पाँच सचिव, १५ चैतमा ११ सचिव र ८ चैतमा दुई सचिव तथा पाँच जना सहसचिवको सरुवा गरेको छ ।

गत चैत र वैशाख महिनाभरमा मात्रै सरकारले शाखा अधिकृतदेखि सचिवसम्म अन्तरमन्त्रालय, प्रदेश सरकार र स्थानीय तहमा गरी चार सय जनाभन्दा बढी कर्मचारी सरुवा गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यसरी जुनसुकै बेला पनि कर्मचारी सरुवा गर्दा प्रशासनिक अस्थिरता आउने विज्ञहरूको धारणा छ ।

पूर्वसचिव पूर्णचन्द्र भट्टराईले सरकारले बाह्रमासे कर्मचारी सरुवा गर्दा प्रशासनिक अस्थिरता र सेवा प्रवाह प्रभावित हुन थालेको बताउनुभयो । उहाँले छिटोछिटो कर्मचारी सरुवा हुँदा नीति निर्माण र निर्णय प्रक्रियामा समस्या हुने र प्रशासनिक अस्थिरता सिर्जना हुने बताउनुभयो ।

कानुनतः कर्मचारी सरुवा साउन र भदौमा मात्र गर्ने भनेर तोकिएको छ । उहाँले भन्नुभयो, “सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्य मन्त्रालयले गरेको आन्तरिक सरुवालाई पनि मिलाउनुपर्नेमा मन्त्रालय आफैँले अव्यवस्थित सरुवा गर्दा प्रशासनिक सङ्घीयता कार्यान्वयनमा समस्या हुन्छ ।”

मन्त्रालयले प्रत्येक हप्ता स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र अन्तरमन्त्रालय, विभाग र कार्यालयका कर्मचारी सरुवा गरिरहेको छ । अन्य मन्त्रालयले पनि मातहतका विभाग र कार्यालयमा छोटोछोटो अवधिमै कर्मचारी सरुवा गरिरहेका छन् । पूर्वसचिव भट्टराईले छोटो अवधिमा कर्मचारी सरुवा हुँदा निर्णय प्रक्रियामा परिपक्व नहुने, परिस्थितिजन्य सरुवाले दिगो रूपमा असर पर्ने, विकास निर्माण, खर्च र प्रक्रिया पारदर्शी नहुने समस्या हुने बताउनुभयो ।

‘कर्मचारी सरुवा बाध्यतामै’

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रामकुमार महतोले बाह्रमासे कर्मचारी सरुवा गर्नु मन्त्रालयको नीति नभई बाध्यता भएको बताउनुभयो । उहाँले मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी मापदण्ड अन्तिम चरणमा पु र्‍याएकाले कानुन निर्माणपछि कर्मचारी सरुवा व्यवस्थित हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्घीय निजामती सेवा ऐन जारी नभएसम्म प्रशासनिक सङ्घीयतामा अस्थिरता आउने र ऐन जारीपछि धेरै कुरा आफैँ मिल्छन् ।”

नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले मन्त्रालयले बाह्रमासे कर्मचारी सरुवा गर्नु गलत भएको बताउनुभयो । उहाँले मन्त्रालयमा नयाँ मन्त्री आएपछि बाह्रैमास कर्मचारी सरुवा गर्ने क्रम पहिलाभन्दा दस गुणाले बढेको दाबी गर्नुभयो । उहाँका अनुसार अहिले मन्त्रालयमा नयाँ मन्त्री आएपछि छिटोछिटो कर्मचारी सरुवा भइरहेको र यो प्रवृत्ति कायम भइरहे प्रशासनिक अस्थिरता झनै झाँगिदै जाने छ । यो खबर गोरखापत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *