यस वर्ष २ हजार १ सय निजामती कर्मचारी सेवाबाट बाहिरिँदै
साउन ४, २०८१ । चालू आर्थिक वर्ष २०८१-८२ मा निजामती क्षेत्रका विभिन्न तहमा रहेर ३० वर्षभन्दा बढी सेवा दिँदै आइरहेका २ हजार १ सय कर्मचारी सेवानिवृत्त हुने भएका छन् ।
राष्ट्रिय किताबखानाले किताबखानामा दर्ता भएका कर्मचारीको अनिवार्य अवकाश संख्या सम्बन्धमा तयार पारेको अनुमानित विवरणमा यस वर्ष २ हजार १ सय कर्मचारी अनिवार्य अवकाशमा जान लागेको देखिएको हो । राष्ट्रिय किताबखानाले त्यससम्बन्धी विवरण शुक्रबार आफ्नो वेभसाइटमार्फत् सार्वजनिक गर्ने तयारी गरेको छ ।
‘यस वर्ष २१ सय कर्मचारीले अनिवार्य अवकाश पाउनुहुनेछ, त्यससम्बन्धी विवरण शुक्रबार वेभसाइटमार्फत् सार्वजनिक गर्नेछौं’ –राष्ट्रिय किताबखानाका एक अधिकारीले भने । उनले अनिवार्य अवकाशमा जानेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी रहेको बताए ।
यसै गरी विभिन्न सेवा र तहका कर्मचारी कुनै न कुनै संख्यामा बाहिरिने उनले बताए। राष्ट्रिय किताबखानाका अनुसार गत आर्थिक वर्ष २०८०-८१ मा अवकाशमा गएका कर्मचारीको संख्या २ हजार २ सय थियो । चालु आवमा भने अनिवार्य अवकाशमा जानेहरूको संख्या केही घटेको किताबखानाले जनाएको छ ।
किताबखानाका अनुसार निजामती सेवाबाट बाहिरीनेहरूले ३० देखि ३३ वर्षसम्म जागिर खाएका छन्। पहिला पहिला बाहिरिनेहरूले झण्डै ४० वर्षसम्ममा नै जागिर खाने गरेका थिए । पछिल्ला समयमा निजामती सेवामा प्रवेश उमेर बढेकाले पनि जागिर खानेहरूले समय केही घटेको हो ।
किताबखानाका अनुसार शुरूका वर्षहरूमा निजामती सेवामा प्रवेश गर्नेहरूको उमेर १७–१८ वर्षको हुने गरेको थियो भने पछिल्ला वर्षहरूमा भने निजामती सेवामा प्रवेश गर्नेहरूको उमेर २२–२३ वर्षको हुने गरेको छ ।
राष्ट्रिय किताबखानाका अनुसार निजामती सेवाबाट अनिवार्य अवकाश पाउने हालसम्मको संख्या ६० हजार रहेको छ । हाल निजामती सेवामा ८५ हजार कर्मचारी रहेका छन् । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

