देश

निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली प्रकाशित

Sharing is caring!

वैशाख ३१, २०८२ ।  निर्वाचन आयोगले २०८१ चैत मसान्तसम्म १८ वर्ष पूरा गरेका नेपाली नागरिकको विवरण समेटेर अन्तिम मतदाता नामावली प्रकाशित गरिएको छ।

आज (बुधवार) बसेको आयोगको निर्णयअनुसार अद्यावधिक प्रक्रिया पूरा गरी देशभरका मतदाताको तथ्यांक समेटिएको अन्तिम नामावली सार्वजनिक गरिएको हो। आयोगले विगतमा मतदाता नामावलीमा देखिएका त्रुटिहरू सच्याउने सुविधा प्रदान गरेको थियो।

नामावली सच्याउन अनलाइन प्रणाली र सम्बन्धित निर्वाचन कार्यालयमार्फत नागरिकले संशोधनका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। मृतक, नागरिकता त्याग गरेका र दोहोरो नाम समावेश भएकाको विवरण हटाइएका छन्।

अन्तिम मतदाता संख्या १ करोड ८१ लाख ४८ हजार ६५४ रहेको आयोगले जनाएको छ। यसमध्ये ८९ लाख १० हजार ८९६ जना महिला, ९२ लाख ३७ हजार ५७२ जना पुरुष र १८६ जना अन्य मतदाता छन्।

अघिल्लो नामावलीको तुलनामा महिला मतदाता ७ हजार ६९९ र पुरुष मतदाता १२ हजार १२४ जना बढेका छन् भने अन्य मतदाता एक जना घटेका छन्।

मतदाता नामावली आयोगको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको छ। नागरिकले आफ्नो नाम, ठेगाना तथा अन्य विवरण त्यहाँबाट जाँच गर्न सक्नेछन्।

आयोगले आगामी दिनमा पनि नागरिकता प्राप्त गरेका नयाँ व्यक्तिहरूले अनलाइन वा कार्यालयमार्फत आफ्नो नाम दर्ता गर्न सक्ने र आवश्यक परे विवरण अद्यावधिक गर्न सकिने जनाएको छ।

निर्वाचन आयोगले सबै सरोकारवालालाई जानकारी गराउँदै मतदाता नामावलीको सही र समयमै अद्यावधिक गराउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *