Headlineसमाचार

राष्ट्रपति पौडेलद्वारा ईद उल अज्हा (बकर ईद) को शुभकामना, विविधताबीच एकतामा जोड

Sharing is caring!

जेठ २४, २०८२ । राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम समुदायको महान् पर्व ईद उल अज्हा (बकर ईद) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी भाइचारा, सद्भाव र सहिष्णुताको सन्देश फैलाउने यस्ता पर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

उनले भनेका छन्, “विश्वास, समर्पण र समाज सेवाको सन्देश बोकेको ईद उल अज्हा जस्ता पर्वले देश तथा विदेशमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, मेलमिलाप, एकता, भ्रातृत्व र सहअस्तित्वको भावना जागृत गराउने छन् ।”

ईदको अवसरमा मुस्लिम समुदायले परम्परानुसार रिस, राग र द्वेषलाई त्याग्दै एक आपसमा शुभकामना आदान–प्रदान गर्ने, खुले स्थान, इदगाह वा मस्जिदमा गई नमाज पढ्ने, अङ्गालोमा बाँधिएर हर्षोल्लासपूर्वक यो पर्व मनाउने प्रचलन रहेको छ ।

राष्ट्रपति पौडेलले ईद उल अज्हा मार्फत सबै नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भावको भावना थप सुदृढ होस् भन्ने कामना समेत व्यक्त गरेका छन् ।

उनले धार्मिक र सांस्कृतिक विविधताबीच एकताको भावना स्थापित गर्दै मौलिक परम्पराको संरक्षण, संवर्द्धन तथा समुन्नत समाज निर्माणतर्फ अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने विश्वास पनि व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *