Headlineविजनेस

डीडीसीको महाप्रबन्धकमा डा. पाण्डेय नियुक्त, कर्मचारीका सुविधामा कटौती

Sharing is caring!

जेठ १५, २०८२ । दुग्ध विकास संस्थान (डीडीसी) को निमित्त महाप्रबन्धकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. जगदिश पाण्डेय नियुक्त भएका छन्। मन्त्रालयका निर्णय अनुसार डा. पाण्डेयलाई संस्थानको नेतृत्व दिइएको हो।

कृषि मन्त्री रामनाथ अधिकारीको सचिवालयका अनुसार डा. पाण्डेयलाई आज (बिहिबार) देखि लागु हुनेगरी डीडीसीको महाप्रबन्धकको जिम्मेवारी दिइएको हो।

साथै, मन्त्रालयले डीडीसीका कर्मचारीहरूलाई दिइँदै आएको नियमित सेवा सुविधा कटौती गर्ने निर्णय पनि गरेको छ। अबदेखि कर्मचारीलाई दिइने दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यू सुविधा बन्द गरिएको मन्त्रालयले जानकारी दिएको छ। उक्त निर्णय जेठ १५ गते देखिनै लागू हुने भएको हो।

मन्त्रालयका अनुसार दुग्ध किसानहरूलाई भुक्तानी नपाएको अवस्था र डीडीसीले सरकारबाट लिएको ऋण तिर्न नसकेको आर्थिक संकटले यस्तो निर्णय गर्नुपरेको हो। “कर्मचारी सुविधाभन्दा किसान भुक्तानीलाई प्राथमिकता दिनुपर्ने बाध्यता भएकाले यस्तो निर्णय गरिएको हो।”

डीडीसीको व्यवस्थापनसँग कर्मचारी सेवा-सुविधाको विस्तृत विवरण मागिसकेको मन्त्रालयले सार्वजनिक संस्थानमा देखिएको घाटा न्यूनिकरण गर्न यस्ता निर्णय गरिएको छ। अन्य घाटामा गएका सार्वजनिक संस्थानहरूले पनि यसअघि यस्तै सेवा कटौतीको अभ्यास गरेका थिए।

मन्त्रालय स्रोतका अनुसार संस्थानको आर्थिक अनुशासन कायम गर्न, व्यवस्थापन सुधार गर्न र किसानप्रति सरकारको जिम्मेवारी देखाउन यो कदम चालिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *