समाचार

अमेरिकासम्म लैजाने भन्दै डा. बगालेले ठगे ४० लाख ! अभियन्ता खनालले गरे खुलासा

Sharing is caring!

जेठ ४, २०८२ । सामाजिक अभियन्ता तथा ‘भ्रष्टाचार विरुद्धको राष्ट्रिय महाअभियान’का अध्यक्ष राजेन्द्र खनालले डा. मोजबहादुर बगालेविरुद्ध गम्भीर ठगीको आरोप लगाएका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा खनालले बगालेले आफूलाई अमेरिका पठाइदिन्छु भन्दै पैसा असुली चरित्र हत्या गर्नेसम्मका कार्य गरेको गुनासो गरे ।

खनालका अनुसार डा. बगाले कन्सल्ट्यान्सी व्यवसायमा संलग्न रहेको व्यक्ति हुन् र विगतमा उनीसँग व्यक्तिगत सम्बन्ध रहेको भए पनि पछिल्लो समय उनले योजनाबद्ध रूपमा आफ्नो बदनाम गर्ने प्रयास गरेका छन् । “बिगत केही दिनदेखि बगालेले मिडियामार्फत मेरो मानहानी गर्दै आएका छन्, तर त्यसमा कुनै सत्यता छैन,” खनालले भने ।

खनालले बताएअनुसार वैशाख २८ गते उनी चितवन जान लागेका बेला डा. बगालेले जबर्जस्ती पोखरा हुँदै सँगै जान आग्रह गरेका थिए । पोखराबाट काम सकिएपछि दुबै जनालाई दमौलीस्थित एक होटलमा लगेका थिए । त्यहाँ बगालेले आफैंले रक्सी मगाई खनाललाई पनि पिउन बाध्य पारेको उनले दाबी गरे ।

रातको समयमा सामान्य भनाभन भए पनि एकै कोठामा सुतेको र बिहान प्रहरीले आएर झस्काएको खनालले स्मरण गरे। प्रहरीका अनुसार बगालेले आफूलाई मार्न खोजिएको, पाँच लाख फिरौती मागिएको भनेर उजुरी दिएका थिए । तर खनालका अनुसार त्यस्तो कुनै प्रमाण नदेखाई प्रहरीले उनलाई दुई दिन हिरासतमा राखेको थियो ।

“बगालेकै गाडी र खर्चमा यात्रा भएको थियो। मैले त अमेरिका लैजाने भनिएको रकमबारे प्रमाण मागेँ मात्र। त्यसैलाई लिएर अदालत जाने धम्की र पछि प्रहरीमा झूटा उजुरी गर्ने काम गरे,” खनालको भनाइ थियो ।

घटनामा संलग्न अर्की पीडित सुसिला गुरुङकी दिदी जलु गुरुङले पनि डा. बगालेविरुद्ध बयान दिइन्। उनले डा. बगालेले सुसिलालाई अमेरिका लैजाने भन्दै १० लाख रुपैयाँ अग्रिम लिएको र खनाललाई चिनेको कारण मौखिक जमानीमा रकम बुझाएको बताइन् । “सम्झौता अनुसार ग्रीनकार्ड दिनुपर्ने तर अहिलेसम्म कुनै प्रमाण नदिएकोले खनाललाई प्रमाण माग्न भनिएको हो,” उनले भनिन् ।

तेस्रो जनआन्दोलन राष्ट्रिय परिषद्का सदस्य खड्क श्रेष्ठले पनि पत्रकार सम्मेलनमा सहभागिता जनाउँदै खनालको समर्थन गरे । “बगालेजस्ता सुनियोजित ठगी गर्ने गिरोहलाई माथिल्लो तहले नै संरक्षण गरिरहेको छ,” श्रेष्ठले भने ।

खनालले सत्यताका पक्षधर प्रहरी, पत्रकार र नागरिक समाजको साथ पाउनेमा आशावादी रहेको भन्दै डा. बगालेलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे। उनले प्रमाणसहित मिडियामार्फत सत्य उजागर गर्ने र न्यायका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *