अखवार

ओली नेतृत्वको सरकारप्रति कांग्रेसमा असन्तुष्टि बढ्दो

Sharing is caring!


जेठ ५, २०८२ । सत्तारूढ नेपाली कांग्रेसभित्र सरकारविरुद्ध असन्तुष्टि बढ्दो छ । सदनदेखि सार्वजनिक कार्यक्रमका साथै पार्टीकै बैठकमा सरकारविरुद्ध कांग्रेसको असन्तुष्टि पोखिँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध नेताहरूले असन्तुष्टि पोखे पनि कांग्रेस सभापति शेरबहादुर देउवाले साथ छोड्ने संकेत गरेका छैनन् ।

देउवा अहिले तत्कालै सत्तासहकार्य तोड्ने पक्षमा देखिएका छैनन् । यद्यपि, कांग्रेसभित्रैको असन्तुष्टि देख्दा लामो समयसम्म सत्ता सहकार्य हुन्छजस्तो पनि देखिँदैन ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमै ‘सरकार’ सरकार जसरी चल्न नसकेको टिप्पणी कांग्रेस सांसदले नै गरेका छन् । कांग्रेस सांसद सञ्जयकुमार गौतमले कांग्रेस र नेकपा एमालेसहित मिलेर बनेको सरकारको अनुभूति आफूले नगरेको बताए ।

‘अहिले जुन सरकारमा छौं, कांग्रेस र एमाले मिलेर सरकार बनाइएको छ, ‘सरकार’ सरकार जसरी चलेको अनुभूति गर्न सकेको छैन,’ कांग्रेस सांसद गौतमले भने । असन्तुष्टि व्यक्त गर्दै उनले अन्य क्षेत्रमा समेत यस्तै हालत रहेको र जनता निराश भएको बताए ।

उनले संसद्मा जुन किसिमको भाइब्रेसन हुनुपर्ने हो, त्यो हुन नसकेको भन्दै न्यायपालिकामा पनि जनताको भरोसा नभएको जस्तो देखिएको बताए । सरकार, संसद् र न्यायालयप्रति जनताको भरोसा पैदा गर्न नसकिएको उनले बताए ।

‘संसद् जसरी चल्नुपर्ने हो, जसरी जनताका समस्या रिफ्लेक्ट भएर भाइब्रेसन हुनुपर्ने हो, त्यो हुन सकेको छैन,’ उनले भने, ‘जनता निराश छन्, जनतामा आशा र भरोसा पैदा गर्न सकेका छैनौं, एक किसिमको सोच र सम्भावना क्रियट गर्न सकेका छैनौं ।’

उनको असन्तुष्टि यतिमै सीमित भएन । उनले वर्तमान सरकारबाट जनता निराश भएको र आशा भरोसा पैदा गर्न नसकिएकाले राष्ट्रिय सहमतिको सरकार गठन गर्नमा ढिलाइ गर्न नहुने समेत बताए ।

कांग्रेसका अर्का नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको आरोप लगाएका छन् । एक सार्वजनिक कार्यक्रममा उनले वर्तमान सरकार दुईतिहाइको मजबुत भए पनि जनताले सोचेअनुसार काम सरकारले गर्न नसकेको बताए । नेता साउदले देशमा जनताको प्रत्यक्ष प्रतिनिधित्व रहेको संसद्मार्फत विधेयक ल्याएर कानुन निर्माण गर्नु नै संविधानको मर्मअनुरूप हुने उल्लेख गरे ।

कांग्रेस नेता गौतम र साउद मात्रै नभई महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, डा। शेखर कोइरालालगायतका नेताहरू सरकारसँग सन्तुष्ट छैनन् । ओली नेतृत्वको सरकारको कार्यशैलीविरुद्ध उनीहरूले खुलेरै अभिव्यक्ति दिँदै आएका छन् ।

तर, कांग्रेस सभापति देउवा वर्तमान सरकारका केही कमी कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताउँछन् । शनिबार देउवाले कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेकाले अहिलेको कांग्रेस–एमालेको संयुक्त सरकारका केही कमी कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताए । उनले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै निर्वाचन लड्नुपर्ने बाध्यता रहेको बताए ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा समेत सांसदहरूले ओली सरकारविरुद्ध असन्तुष्टि पोखेका थिए । सांसदहरूले सरकार एकतर्फी ढंगले अघि बढिरहेको र कांग्रेसको कुरा नसुनेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् । साथै, उनीहरूले गभर्नरलगायतका विभिन्न नियुक्ति बिनाकारण अड्काएर राखेको समेत बताएका थिए ।

बैठकमा सांसदहरूले समान ढंगले बजेटको वितरण हुनुपर्नेलगायतका सुझाव दिएका थिए । बैठकमा गभर्नरको विषय, बजेटको क्षेत्रगत रूपमा सन्तुलित वितरणलगायतका विषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जनाएका छन् ।

संयुक्त सरकारमा कांग्रेसको पोजिसनका विषयमा पनि सांसदहरूले कुरा राखेको उनले बताए । उनले प्राविधिक कारणले गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्दै एमालेले कांग्रेसलाई दिन नचाहेको भन्ने कुरा सत्य नभएको दाबी गरे ।

बैठकमा देउवाले पार्टीका निलम्बित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा लिन नहुने बताए । देउवाको भनाइ उद्धृत गर्दै घिमिरेले निलम्बित सांसदद्वय राई र बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेको बताए । नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने ’दयगतमा कुनै एजेन्डा नरहेको स्पष्ट पार्दै उनले कांग्रेसले सरकार परिवर्तनका ’दयगतमा कुनै सोच नराखेको समेत स्पष्ट गरेका छन् ।

सरकार गठन भएको १० महिना पुगेको छ । तर, प्रधानमन्त्री ओली नेतृत्वको सरकार बन्नु अघि भएको दुई दलबीचको सहमतिसमेत कार्यान्वयन हुन नसक्दा नेताहरूले गुनासो पोख्दै आएका छन् ।

संसद्का सबैभन्दा ठूला दुई दल कांग्रेस र एमालेबीच सहमति भई सरकार गठन भएको १० महिना पुगेको छ । गत वर्षको १७ असारमा सातबुँदे सहमति भयो । संसद्को बाँकी कार्यकाल आलोपालो प्रधानमन्त्री हुने सहमतिअनुसार सुरुमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गरिरहेका छन् । ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । सहमतिअनुसार सरकारको नेतृत्वका लागि कांग्रेस सभापति देउवाले आफ्नो पालो पर्खिंदै छन् ।

कांग्रेस र एमालेबीच भएको सहमतिमा संविधान संशोधन, राजनीतिक स्थिरता, सुशासन, मुलुकको आर्थिक गतिविधि बलियो बनाउने, सरकारको सेवा प्रवाहलाई बलियो र प्रभावकारी बनाउने सहितका मुद्दा प्रमुख रूपमा उठाइएको थियो । तर, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित अन्य प्रतिपक्षीले मात्रै नभई सत्तारूढ दल कांग्रेसकै नेताहरूले दुई दलका बीचमा भएको सहमति कार्यान्वयन नभएको बताउँदै असन्तुष्टि र आक्रोश पोख्दै आएका छन् । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *