भारतमा उपचार गर्ने नबिल बैंकका ग्राहकलाई अपोलो अस्पतालमा छुट
वैशाख २१, २०८२ । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपछि नबिल बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरूले भारतस्थित अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंकका तर्फबाट प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फर्मेसन सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक (कानून) सुशीलकुमार चापागाइँले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार ग्राहकले अपोलो अस्पतालमा उपचार गर्दा छुटसँगै व्यक्तिगत परामर्श सेवा तथा यात्राको व्यवस्थापनसम्बन्धी सहजीकरण पनि प्राप्त गर्नेछन् । नबिल बैंकका प्रमुख बजार अधिकृत सुवेदीले नेपालबाट भारत उपचारका लागि जानेहरूको संख्या उल्लेख्य रहेकाले ग्राहकलाई विश्वस्तरीय सेवा सहज र सुलभ बनाउने उद्देश्यले यो सहकार्य गरिएको बताए ।
ग्राहकहरूले बैंकको डेबिट तथा क्रेडिट कार्ड, नबिल क्यूआर, मोबाइल एप वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा सो छुट तथा सेवा प्राप्त गर्न सक्नेछन् । बैंकले यो सहमति दुई वर्षसम्म लागू हुने जनाएको छ ।
अपोलो इन्फर्मेसन सेन्टर भारतको अपोलो अस्पताल इन्टरप्राइजेज लिमिटेडको आधिकारिक प्रतिनिधि संस्था हो । काठमाडौँको नक्सालमा केन्द्र रहेको यस संस्थामार्फत दक्ष स्वास्थ्यकर्मीहरुद्वारा सेवा दिइँदै आएको छ ।
नबिल बैंकले हाल देशभर २६८ शाखा र ३२० एटिएममार्फत २४ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । नेपाली निजी क्षेत्रको अग्रणी बैंकका रूपमा परिचित नबिलले सामाजिक उत्तरदायित्व सहित बैंकिङ क्षेत्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।

