डिजिटल मधेश कन्क्लेभ २०२५ पहिलोपटक बर्दिवासमा आयोजना हुँदै
वैशाख २८, २०८२ । मधेश प्रदेशको डिजिटल रुपान्तरण र प्रविधिको प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यसहित पहिलो पटक डिजिटल मधेश कन्क्लेभ २०२५ आयोजना हुने भएको छ । यही बैशाख ३१ गते बुधवार महोत्तरीको बर्दिवासस्थित होटल नाभ्यामा उक्त कन्क्लेभको आयोजना हुन लागेको हो ।
गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेश सरकार, आइसिटी फाउन्डेसन नेपाल र क्यान महासंघ मधेश प्रदेशको संयुक्त आयोजनामा हुन लागेको कन्क्लेभमा ३० बढी विज्ञ वक्ताको सहभागिता रहनेछ ।
‘फोस्टरिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ भन्ने मूल नाराका साथ हुने कार्यक्रम विभिन्न ६ भन्दा बढी सेसनमा सञ्चालन हुनेछ । कार्यक्रममार्फत मधेश प्रदेशको डिजिटल पूर्वाधार, शिक्षा, एआइ तथा डेटा सुरक्षा, स्टार्टअप तथा इन्नोभेसन, आईसीटी नीति र डिजिटल गभर्नेन्सजस्ता विषयमा प्यानल छलफल र प्रस्तुतीहरु गरिनेछ ।
कन्क्लेभमा ३ वटा कीनोट प्रस्तुतीसँगै डिजिटल इनिसिएटिभ्स र रुपान्तरण सम्बन्धी आइडियाहरुको शोकेश समेत गरिने आयोजक आइसिटी फाउन्डेसन नेपालले जानकारी दिएको छ । इच्छुक व्यक्ति तथा संस्थाले www.madhesh.digital वेबसाइटमार्फत आफ्नो डिजिटल समाधान वा आइडियाको विवरण दर्ता गराउन सक्नेछन् ।
यसअघि आइसिटी फाउन्डेसनले गत बैशाख ९ र १० गते सुर्खेतमा डिजिटल कर्णाली कन्क्लेभ सफलतापूर्वक सम्पन्न गरिसकेको छ। अब पहिलो पटक मधेश प्रदेशमा आयोजना हुन लागेको यस कन्क्लेभमा स्थानीय पालिका, मन्त्रालयका प्रतिनिधि र आइसिटी सरोकारवालासहित ३०० बढी सहभागी रहने अपेक्षा गरिएको छ ।
कार्यक्रमले आउँदो आर्थिक वर्षको नीति तथा बजेटमा डिजिटल र प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्न समेत सघाउ पुर्याउने विश्वास लिइएको छ ।

