मधेश प्रदेशमा पहिलो पटक डिजिटल मधेश कन्क्लेभ सम्पन्न
जेठ १, २०८२ । मधेश प्रदेशमा पहिलो पटक आयोजना गरिएको डिजिटल मधेश कन्क्लेभ २०२५ सम्पन्न भएको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, आइसिटी फाउन्डेसन नेपाल र क्यान महासंघ मधेश प्रदेशको सहकार्यमा महोत्तरीको बर्दिबासस्थित होटल नाभ्यामा दिनभर चलेको उक्त कन्क्लेभमा डिजिटल मधेश निर्माणका सम्भावना, अवसर र चुनौतीमाथि बृहत छलफल गरिएको थियो ।
‘फोस्टरिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ भन्ने नारामा आधारित कन्क्लेभमा तीन ओटा किनोट प्रस्तुति, छ भन्दा बढी विषयगत प्यानल सेसन र ३० बढी डिजिटल विज्ञहरूको सहभागिता रहेको आयोजकहरूले जनाएका छन् । कन्क्लेभमा ३०० भन्दा बढी सहभागीहरू उपस्थित थिए, जसमा प्रदेश सरकारका मन्त्रीहरू, सांसद, पूर्व मन्त्री, जनप्रतिनिधि, विज्ञ, अधिकारी तथा सरोकारवालाहरू थिए ।
मुख्यमन्त्री सतीश कुमार सिंहले कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशमा डिजिटल प्रविधिको ठूलो सम्भावना रहेको बताउँदै त्यसका लागि आवश्यक पूर्वाधार विकास गर्न प्रदेश सरकार तयार रहेको बताएका थिए । उनले डिजिटल रुपान्तरणलाई तीव्रता दिन सरकारी तथा निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेकोसमेत उल्लेख गरे ।
त्यस्तै, मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले डिजिटल मधेशलाई सरकारको उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै आवश्यक स्रोत र साधन व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्रालयका सचिव विमल प्रसाद बरालले योजनाबद्ध रूपमा डिजिटल मधेशको खाका तयार गर्न कन्क्लेभबाट महत्वपूर्ण दिशानिर्देश प्राप्त भएको बताए । आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले डिजिटल नेपालको अभियानमा यो कन्क्लेभले थप योगदान गर्ने विश्वास व्यक्त गरे ।
कन्क्लेभमा डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, एआई तथा डेटा सुरक्षा, स्टार्टअप र इन्नोभेसन इकोसिस्टम, आइसिटी नीति तथा डिजिटल गभर्नेन्स जस्ता विषयमा गहन छलफल गरिएको थियो । साथै, विभिन्न डिजिटल इनिसिएटिभ र डिजिटल ट्रान्सफर्मेसनका नवीनतम आइडिया र प्रविधिको पनि शोकेस गरिएको थियो ।
कन्क्लेभको विशेष आकर्षणका रूपमा मधेश प्रदेशका तीन डिजिटल च्याम्पियनहरूको रुपमा ‘खल्ती’ का सहसंस्थापक अरविन्द साह, डायनामिक टेक्नोसफ्टका सीईओ दीपक साह र स्किल स्पार्ककी संस्थापक सिर्जना झालाई सम्मान गरिएको थियो ।
कन्क्लेभमा वक्ताका रूपमा मधेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. शोहन प्रसाद साह, आइसिटी विज्ञ विवेक राणा, वर्ल्डलिंकका सिनियर म्यानेजर आशिष सिग्देल, नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण लगायतका विज्ञ तथा अधिकारीहरूको सहभागिता थियो ।
त्यस्तै, विभिन्न स्थानीय तह, शैक्षिक संस्था र निजी क्षेत्रका प्रतिनिधिहरूले समेत आफ्ना अनुभव र सुझाव प्रस्तुत गरेका थिए । विशेष रूपमा कनेक्ट किसान, खल्ती, वर्ल्डलिंक, स्किल स्पार्क, एनवाईईएफ, काठमाडौं महानगर लगायतका संस्थागत प्रतिनिधित्व पनि देखिएको थियो ।
यसअघि कर्णाली प्रदेश सरकारको सहकार्यमा आइसिटी फाउन्डेसनले सुर्खेतमा डिजिटल कर्णाली कन्क्लेभ आयोजना गरिसकेको थियो । प्रादेशिक तहमा डिजिटल प्रवर्द्धनका लागि आइसिटी फाउन्डेसनले यो दोस्रो कन्क्लेभ आयोजना गरेको हो ।
कार्यक्रमको समापनमा आयोजकहरूले कन्क्लेभमा प्रस्तुत विचार र सुझावलाई समेटेर डिजिटल मधेशका लागि रणनीतिक कार्ययोजना तयार पारिने जनाएका छन् ।

