देश

नीति तथा कार्यक्रमबारे दलहरूबीच मतभेद, स्वागतदेखि आलोचनासम्म

Sharing is caring!

वैशाख २०, २०८२ । सरकारले ल्याएको नीति तथा कार्यक्रम–२०८२ का विषयमा विभिन्न राजनीतिक दलका नेताहरूले आ–आफ्नै धारणा सार्वजनिक गरेका छन् । काठमाडौँमा आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा दलका नेताहरूले नीति तथा कार्यक्रमबारे प्रशंसा र आलोचना दुबै गरेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा. सुरेन्द्र झाले सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको बताए। शिक्षा, स्वास्थ्य, रोजगारी र युवासम्बन्धी नीति उत्साहजनक रहेको उनको भनाइ छ । संघीयता कार्यान्वयनका लागि आवश्यक कानुनहरू चाँडै संसद्बाट पारित गरिने उल्लेख गर्दै उनले नीति तथा कार्यक्रम दीर्घकालीन योजनाका साथ आएको बताए ।

उनले भने, “अहिलेको आर्थिक अवस्था, राजस्व संकलन, निजी क्षेत्रसँगको छलफल आदिलाई ध्यानमा राखेर कार्यक्रम ल्याइएको छ, त्यसैले स्वागत गर्नुपर्छ ।

तर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा सांसद ज्ञानबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रमलाई उद्देश्यविहीन भनेका छन् । उनले यसलाई केपी शर्मा ओलीको ‘पानी जहाज’ जस्तै अस्पष्ट, च्यातिएको कागज जस्तो र टोले गुण्डाले बनाएको सम्झौता जस्तो भने ।

उनले भने, “रोजगारी दिन्छु भनिन्छ, तर आधार छैन। जुट मिल र चिनी मिलजस्ता उद्योग बन्द गराएर कसरी रोजगारी दिन्छन् भन्ने प्रश्न उठ्छ ।

नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले कार्यक्रमलाई निरस र पट्यारलाग्दो भनेका छन्। उनले ‘गाई की त्रिशुल’ भन्दै आलोचना गर्दै योजना, स्रोत र उद्देश्य प्रस्ट नभएको दाबी गरे। सगरमाथा संवाद र भ्रष्टाचार नियन्त्रणबारे उल्लेख नहुनुमा उनले असन्तुष्टि जनाए ।

उता नेकपा (एमाले)का नेता आनन्द पोखरेलले भने नीति तथा कार्यक्रम वस्तुवादी र समाजवादको आधार निर्माणतर्फ केन्द्रित रहेको दाबी गरे । उनले संविधान, सातबुँदे सहमति र राष्ट्रिय योजना आयोगको निर्देशनमा कार्यक्रम आएको उल्लेख गर्दै कृषि, शिक्षा र सहकारी क्षेत्रका योजनाको बचाउ गरे ।

उनले भने, “बासी त नीति होइन, आलोचकहरू नै बासी विचार लिएर आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *