विजनेस

देव ऊर्जा कन्स्ट्रक्सनद्वारा माथिल्लो ठूलो खोला जलविद्युत् आयोजना सम्पन्न

Sharing is caring!

वैशाख १५, २०८२ ।  कन्स्ट्रक्सन क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल देव ऊर्जा कन्स्ट्रक्सन लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकल कार्यहरू सफलतापूर्वक सम्पन्न गरेको छ।

कम्पनीले २०८१ सालको फागुन महिनासम्म आयोजना अन्तर्गतका सबै मुख्य कार्यहरू सम्पन्न गर्दै इलेक्ट्रोमेकानिकल टोलीलाई हस्तान्तरण गरिसकेको छ।

यो आयोजना माथिल्लो ठूलो खोला ‘ए’ जलविद्युत् आयोजना हो, जसको इलेक्ट्रोमेकानिकल कार्य हाल भारतको बीएफएल (BFL) कम्पनीले गर्दैछ। निर्माण कार्यको दौरान विभिन्न समयहरूमा पहिरो जाँदा र वर्षा तथा हिउँका कारण अवरोधहरूको सामना गर्नु परेको भएता पनि देव ऊर्जा कन्स्ट्रक्सनका प्रमुख कार्यकारी अधिकृत नविन सिलवालका अनुसार, कम्पनीको कठिन परिश्रम र दृढ विश्वासले आयोजना समयभन्दा अगाडि सम्पन्न गर्न सहयोग पुर्याएको छ।

सिलवालले भने, “हामीले कडा चुनौतीको सामना गर्दै योजनाबद्ध कार्य सम्पन्न गरेका छौं र इलेक्ट्रोमेकानिकल टोलीलाई सफलतापूर्वक हस्तान्तरण गर्न सफल भएका छौं।”

आयोजनाको निर्माण २०७९ सालको फागुन १५ गते भूमिपूजन कार्यक्रमसँगै सुरु भएको थियो, र सिभिल संरचनाको मुख्य कार्य २०८० साल वैशाखदेखि शुरु गरिएको हो। यस आयोजनाको कुल लागत ३ अर्ब ९४ करोड अनुमान गरिएको छ, जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीको योगदान रहेको छ।

सिटिजन्स बैंकको अगुवाइमा कृषि विकास बैंक र माछापुछ्रे बैंकले यस आयोजनामा लगानी गरेका छन्।

यस आयोजनाको निर्माण रघुगंगा गाउँपालिका वडा नं. ८, माग्दी जिल्लामा भइरहेको छ, र निर्माण कार्यहरू समयमै सम्पन्न गरी आगामी असोज २८ गते राष्ट्रिय प्रशारण लाइनमा जोडिने लक्ष्य राखिएको छ।

यो आयोजनाको सफलताले देव ऊर्जा कन्स्ट्रक्सनलाई जलविद्युत् क्षेत्रका प्रमुख निर्माण कम्पनीहरूको सूचीमा थप स्थान दिलाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *