समाचार

मधेशी जनता अझै राज्यको आतंकबाट पीडित छन् : महन्थ ठाकुर

Sharing is caring!

वैशाख १५, २०८२ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपालको राजनीतिक इतिहासमा पटक–पटक आएको परिवर्तनका बाबजुद मधेशी जनता अझै राज्य आतंकको चपेटाबाट मुक्त हुन नसकेको बताएका छन्।

जनकपुरधाममा आयोजित पार्टीको नयाँ कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले नेपाली जनताले राणा शासन र राजतन्त्रजस्ता निरंकुश शासन व्यवस्था अन्तर्गत लामो समयसम्म दमन र अत्याचार भोग्नुपरेको स्मरण गरे।

यद्यपि, राजनीतिक व्यवस्था परिवर्तन भएर गणतन्त्र स्थापना भए पनि मधेशी समुदायले समान अधिकार र सम्मान पाउन नसकेको उनले गुनासो गरे। परिवर्तनका नाममा अनेकौं संघर्ष र बलिदान भए तापनि मधेशी जनताको अवस्था उस्तै रहेको उनको भनाइ थियो।

अध्यक्ष ठाकुरले भारतको कश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणको उदाहरण दिँदै निर्दोष पर्यटकहरूलाई धर्म र जातका आधारमा लक्षित गरी गरिएको हिंसात्मक कारवाहीप्रति गहिरो दुःख व्यक्त गरे। उनले नेपालमा पनि धार्मिक र जातीय ध्रुवीकरण बढाउने प्रयास भइरहेकाले त्यसप्रति सचेत रहनुपर्ने बताए। समाजमा जात र धर्मको नाममा फुट ल्याउने प्रवृत्तिले मुलुकलाई कमजोर बनाउने भन्दै उनले सबै नेपालीलाई एकतामा बाँधिन आग्रह गरे।

ठाकुरले नेपालमा पुनः हिन्दु राष्ट्र बनाउने माग उठिरहेको विषयमा टिप्पणी गर्दै भने, ‘हिन्दु राष्ट्र घोषणा गरिँदैमा मुलुकको समृद्धि सुनिश्चित हुँदैन। के हिन्दु राष्ट्र घोषणा गरेपछि पशुपतिनाथको लड्डु आफैं घरघरमा पुग्छ?’ उनले धार्मिक पहिचानको राजनीतिभन्दा समावेशी विकास र समान अधिकारलाई प्राथमिकता दिनुपर्ने बताए।

नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाज भएकाले सबै नागरिकको समान सहभागितामा मात्र राष्ट्र बलियो बन्ने उनको धारणा थियो।

कार्यक्रममा उनले पार्टीका नेता तथा कार्यकर्तालाई संगठनलाई सुदृढ बनाउने अभियानमा लाग्न निर्देशन दिए। ठाकुरले बलियो संगठनले मात्रै मधेशी जनता लगायत सबै उत्पीडित समुदायको हक र अधिकार सुनिश्चित गर्न सक्ने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *