Headlineदेश

भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग

Sharing is caring!

असार २, २०८२ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने स्पष्ट अडान राखेको भन्दै उक्त विषयलाई गम्भीर रूपमा लिएर चाँडै समिति गठन गर्नुपर्ने धारणा राखे।

“यो विषयमा गम्भीर ढंगले अध्ययन र छानबिन गर्न आवश्यक छ,” बस्नेतले भने, “सबैले उठाउँदै आएको विषय यही हो। रास्वपाले पनि समिति नबनेसम्म सदन अवरुद्ध गर्ने बताएको छ। सरकारले ३० दिनभित्र समिति बनाउने भनेको भए पनि त्यो समय किन पर्खिनु? केही दिनमै गठन गर्न सरकारलाई आग्रह गर्दछु।”

उनले सरकारलाई समितिको गठन ढिलाइ नगरी छिट्टै निष्कर्षमा पुग्न आग्रह गरे।

साथै उनले शिक्षा विधेयकबारे पनि बोल्दै सरकारले असार १५ गतेभित्र विधेयक पारित गर्ने प्रतिबद्धता गरेको स्मरण गराए।

“सरकारले लाखौं शिक्षकसँग असार १५ गतेभित्र शिक्षा विधेयक पारित गर्ने वाचा गरिसकेको छ। अब कुनै पनि बहानामा सो जिम्मेवारीबाट पछि हट्नु हुँदैन,” उनले स्पष्ट पारे।

शक्ति बस्नेतको सम्बोधनका बेला निरन्तर नाराबाजी गरिरहेको रास्वपाले भने उनको मन्तव्यका क्रममा नाराबाजी रोकेर मौन समर्थन जनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *