देश

कुलमान घिसिङलाई निलम्बन गरी छानबिन गर्न सांसद प्रेम सुवालको माग

Sharing is caring!

जेठ २२, २०८१ ।  नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गरी छानबिन गर्न माग गरेका छन् ।

मंगलबार संघीय संसद् भवनमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले घिसिङविरुद्ध डेडिकेटेट र ट्रंक लाइन विद्युत उपभोग गरेकाहरुसँग अर्बौ रुपैयाँ असुल नगरेको, चिलिमे त्रिशुली ठेक्का समयमै पूरा नगरेका ठेकेदारलाई कारबाही नगरेको जस्ता विविध आरोप लागेकाले घिसिङलाई निलम्बन गरी छानबिन गर्नुपर्ने आवश्यकता औंल्याए ।

सांसद सुवालले भने, ‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध डेडिकेटेट र ट्रंक लाइन विद्युत उपभोग गरेकाहरुसँग २०–२५ अर्ब रुपैयाँ असुल नगरेको, चिलिमे त्रिशुली ठेक्का समयमै पूरा नगरेका ठेकेदारलाई कारबाही नगरेको, ६ अर्बको ट्रान्सफर्मर खरिद गर्दा कमीसनको पछि लागेको, विद्युत नियमन आयोगको सिफारिसबिना पीपीए गरी राज्यलाईं करोडौंको नोक्सानी पुर्याएको, ५५ करोडको शेयर नौं करोडमा खरिद गरी भ्रष्टाचार गरेको जस्ता विविध आरोप लागेको हुँदा कार्यकारी घिसिङलाई निलम्बन गरी छानबिन गर्नु जरुरी छ ।’

यस्तै, सांसद सुवालले ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भक्ता राष्ट्रिय परिचय पत्रको नाममा बिलम्ब गर्न नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘सरकारले सामाजिक सुरक्षा भक्ता पाउने ज्येष्ठ नागरिकहरुको राष्ट्रिय परिचय पत्र अनिवार्य गर्यो तर स्थानीय तहको वडामा पुगेर राष्ट्रिय परिचय पत्रको विवरण भरेका ज्येष्ठ नागरिक र असक्तहरुको अनलाइनमार्फत दर्ता नभएको हुँदा पुनः जिल्ला प्रशासनमा धाउँदै आएका छन् । यसबारे जिम्मा पाएको ठेकेदारलाई काम पूरा नभई भुक्तानी गरिएकोबारे छानबिन हुनुपर्यो र दोषीलाई कारबाही गर्नु जरुरी छ । राष्ट्रिय परिचय पत्रको निहुँमा सामाजिक सुरक्षा भत्ता वितरण बिलम्ब नगर्न सरकारको ध्यानाकर्षण गराउँछु,’ सांसद सुवालले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *