नेता शास्त्रीको निधनप्रति कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने
असार ४, २०८२ । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्व मन्त्री ढुण्डिराज शास्त्रीको निधनप्रति श्रद्धाञ्जलीस्वरूप तीन दिनसम्म पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।
बुधबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले असार ४, ५ र ६ गते केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय लिएको हो।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएअनुसार, असार ५ गते पार्टीका सबै तहका कार्यालय बन्द राखिनेछ। साथै, शोकको प्रतीकस्वरूप स्वर्गीय शास्त्रीको निधन भएको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिने निर्णय पनि बैठकले गरेको छ।
यस्तै, १३ औं दिनमा सम्बन्धित जिल्लामा श्रद्धाञ्जली सभा आयोजना गरिनेछ।
स्वर्गीय शास्त्रीको जन्म वि.सं. १९९३ साल जेठ २५ गते अर्घाखाँची जिल्लाको किमडाडामा भएको थियो। उनी २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा अर्घाखाँची क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

