मोबाइल–ल्यापटपको चिप्स अब भारतमै! मोदी सरकारको ठूलो योजना
जेठ १, २०८२ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सम्पन्न केन्द्रीय मन्त्रिपरिषद् बैठकले उत्तर प्रदेशको जेवर विमानस्थल नजिकै अत्याधुनिक सेमीकन्डक्टर उत्पादन युनिट स्थापना गर्ने निर्णय गरेको छ।
उक्त युनिटले मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय उपकरणहरूमा प्रयोग हुने डिस्प्ले चिप्स उत्पादन गर्नेछ। परियोजनामा ₹३७०० करोड भारतीय रुपैयाँको लगानी हुने सरकारको अनुमान छ, जसले हजारौं व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा रोजगारी उपलब्ध गराउनेछ।
सरकारले यो परियोजनालाई ‘आत्मनिर्भर भारत’ अभियानअन्तर्गत प्रविधिमा आत्मनिर्भर बन्ने दिशातर्फको रणनीतिक पहलको रूपमा लिएको छ। सेमीकन्डक्टरजस्ता अत्यावश्यक प्रविधि सामग्रीको उत्पादनमा आत्मनिर्भर बन्दै भारतलाई आगामी दिनमा एक विश्वव्यापी उत्पादन केन्द्र बनाउने लक्ष्यसहित यो योजना अघि बढाइएको हो।
भौगोलिक दृष्टिले जेवर विमानस्थल नजिकको क्षेत्र रोजिएकोमा पूर्वाधार पहुँच, अन्तर्राष्ट्रिय ढुवानी सहजता र औद्योगिक करिडोरमा समायोजन गर्न सकिने सम्भावनाले पनि यस परियोजनालाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।
भारत सरकारले पछिल्लो समय सेमीकन्डक्टर र इलेक्ट्रोनिक्स उत्पादनमा विदेशी लगानी भित्र्याउने नीतिलाई प्राथमिकता दिँदै पुँजी अनुदान, कर छुट, प्रविधि हस्तान्तरणमा सहुलियतजस्ता योजनाहरू ल्याएको छ। जेवरमा स्थापना हुने युनिट पनि सोही रणनीतिक कार्यक्रमअन्तर्गत अघि बढाइएको हो।
सरकारको दाबीअनुसार यो परियोजनाले भारतलाई छिट्टै नै विश्वको प्रमुख सेमीकन्डक्टर हब बनाउने दिशामा मार्गप्रशस्त गर्नेछ।

