देश

कक्षा १२ को परीक्षा तोकिएको मितिमै सञ्चालन गर्ने बोर्डको निर्णय

Sharing is caring!


वैशाख ९, २०८२ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षक आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि परीक्षा सर्ने अड्कलबाजी भइरहेका बेला बोर्डले परीक्षा यथावत् सञ्चालन हुने स्पष्ट पारेको हो।

बोर्डका अध्यक्ष महाश्रम शर्माले सोमबार बिहान बसेको बोर्ड बैठकपछि परीक्षा कुनै पनि हालतमा नरोकिने बताए। ‘निर्धारित मिति अनुसार नै परीक्षा हुने छ,’ अध्यक्ष शर्माले भने, ‘विद्यार्थीहरूले नडराई तयारीमा लाग्नुपर्छ।’

पछिल्लो समय केही शिक्षक संघहरू आन्दोलनमा उत्रिएपछि परीक्षाको तयारीमा अन्योल उत्पन्न भएको थियो। तर, बोर्डले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिहरूलाई परीक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न निर्देशन दिइसकेको छ। यससँगै परीक्षा केन्द्र तोकिएका विद्यालयहरूलाई समयमै तयारी गर्न अनुरोध गरिएको छ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि परीक्षा तय भएको मितिमा हुने बताएका छन्। ‘द्विविधा नराख्नुस्, परीक्षा हुन्छ,’ शर्माले भने, ‘विद्यार्थीहरूले ढुक्क भएर तयारी गर्नुपर्छ।’

यसैबीच, बोर्डले परीक्षा शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गर्न सम्बन्धित सबै पक्षको सहकार्य अपेक्षा गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *