विजनेस

डिडिसीले चुनौतीका बीच पनि गुणस्तर कायम राख्दै

Sharing is caring!

जेठ ९, २०८२ । निजी क्षेत्रको तीव्र बजार प्रवेश र प्रतिस्पर्धाका बीच पनि दुग्ध विकास संस्थान (डिडिसी) ले आफ्नो गुणस्तरीय सेवा र उत्पादमाथिको प्रतिबद्धता कायम राख्न सफल भएको छ। सरकारी स्वामित्वमा रहेको डिडिसी अहिले बजारमा आफ्नो उपस्थिति जोगाउन मात्र सीमित छैन, उपभोक्तालाई शुद्ध, मापदण्डअनुसारको दूध तथा दुग्धजन्य उत्पादन उपलब्ध गराउन निरन्तर क्रियाशील छ।

डिडिसीका प्रवक्ता नीलकण्ठ गौतमका अनुसार, निजी क्षेत्रको बढ्दो उपस्थितिले प्रतिस्पर्धा त तीव्र बनाएको छ, तर डिडिसी अझै पनि आफ्ना मूल्य, मापदण्ड र सामाजिक उत्तरदायित्वप्रति गम्भीर छ। “विगतमा हामी एक्लै थियौं, अहिले प्रतिस्पर्धा छ, तर हामी गुणस्तरमा कुनै सम्झौता गरेका छैनौं,” उनले भने।

काठमाडौँ दुग्ध वितरण आयोजनाका आयोजना प्रमुख इन्द्रभूषण कुमार यादवले पनि डिडिसीको उत्पादन अन्य निजी डेरीको तुलनामा अझ सुरक्षित र गुणस्तरीय रहेको बताउँदै उपभोक्तालाई सचेत बन्न आग्रह गरे। “हामी उपभोक्तालाई कहिल्यै धोका दिएका छैनौं। डिडिसीको हरेक उत्पादन सरकारी मापदण्ड अनुसार परीक्षणपछि मात्र बजारमा जान्छ,” उनले स्पष्ट पारे।

डिडिसी हाल स्ट्यान्डर्ड दूध, होलमिल्क, काउ मिल्क, टी मिल्क, दही, घिउ, माखन, लस्सी, आइसक्रिम, चीज लगायत उत्पादनहरू उत्पादन गर्दै आएको छ। यी उत्पादनहरूमा सन्तुलित पोषण, सुरक्षित प्रशोधन र गुणस्तरीय प्याकेजिङको विशेष ध्यान दिइएको छ।

हाल डिडिसीसँग तीन अर्ब रुपैयाँ बराबरको अचल सम्पत्ति र सवा अर्ब रुपैयाँभन्दा बढीका मौज्दात सामाग्री छन्। प्रवक्ता गौतमका अनुसार, खर्च कटौती गर्दै बजार विस्तार गर्ने योजनामा संस्थान लागिपरेको छ र यसका लागि मन्त्रालयसँग समन्वय भइरहेको छ।

संस्थानले सरकारी निकायहरू – जस्तै सेना, प्रहरी, र निजामती तर्फका कर्मचारीहरूलाई डिडिसीका उत्पादन अनिवार्य रूपमा प्रयोग गराउने व्यवस्था गर्नुपर्ने माग पनि राखेको छ, जसले मौज्दात सामग्री व्यवस्थापन र बजार सन्तुलनमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

यद्यपि, व्यवस्थापन सुधार, भुक्तानी प्रणालीको पारदर्शिता, र ढुवानी खर्चको व्यवस्थापन अझ प्रभावकारी बनाउने आवश्यकता स्पष्ट देखिएको छ। किसानको परिश्रम र उपभोक्ताको विश्वासलाई सँगै लिएर डिडिसीले प्रतिस्पर्धात्मक बजारमा समेत आफ्नो सामाजिक उत्तरदायित्व र गुणस्तरीय सेवा निरन्तरता दिइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *