Headlineसमाचार

१५औं महाधिवेशनको मिति तत्काल तोक्नुपर्छ : नैनसिंह महर

Sharing is caring!


असार १६, २०८२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा महामन्त्री पदका आकांक्षी नैनसिंह महरले पार्टीको १५औं महाधिवेशनको मिति तत्काल घोषणा गर्न माग गर्नुभएको छ । आज (सोमबार) बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उहाँले पार्टीभित्र बढ्दो अन्योल चिर्न र सांगठानिक गतिशीलता फर्काउन महाधिवेशनको कार्यतालिकासहित मिति तोक्न ढिलाइ गर्न नहुने धारणा राख्नुभयो ।

“महाधिवेशनबारे अनेक भ्रम छरिएका छन् । यसले पार्टी पंक्तिमा अन्योल बढाएको छ,” महरले बैठकमा भन्नुभयो, “विधान अनुसार समयमै तयारी गर्न र पार्टीलाई गतिशील बनाउन मिति घोषणा गर्न ढिलाइ गर्नु हुँदैन।”

महाधिवेशनमा महामन्त्री पदको औपचारिक उम्मेदवारीको तयारी गरिरहेका महरले सरकारको कामकारबाही, गठबन्धनको भविष्य, पार्टीको रणनीति र सांगठानिक सुदृढीकरणका विषयमा विस्तृत धारणा राख्नुभएको थियो ।

संगठन सुधारमा जोड

नेता महरले पार्टी संगठनलाई सुदृढ गर्न क्रियाशील सदस्यता वितरण, नविकरण प्रक्रिया तथा भातृ संस्थाहरूको महाधिवेशन तत्काल गर्नुपर्ने माग गर्नुभयो । उहाँले विभागहरूलाई पूर्णता दिने, कार्ययोजना अनुसार पार्टी क्यालेन्डर लागू गर्ने र सबै निर्णय केन्द्रीय समितिबाट हुनुपर्नेमा जोड दिनुभयो ।

“संयन्त्रलाई संविधानले चिन्दैन, पदाधिकारी बैठकको निर्णयलाई पार्टी विधानले चिन्दैन,” महरले स्पष्ट पार्नुभयो, “सबै निर्णय केन्द्रीय समितिबाट हुनुपर्छ, विधान अनुसार मात्र संगठन चल्नुपर्छ ।”

सरकार र गठबन्धनप्रति असन्तुष्टि

सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै महरले तीनै तहको सरकार प्रभावकारी बन्न नसकेको र बजेटप्रति जनसमक्ष सकारात्मक सन्देश नगएको टिप्पणी गर्नुभयो । गठबन्धन निर्माणका बेला गरिएको सात बुँदे सहमति कार्यान्वयन नभएको, कांग्रेसको भूमिका सीमित बनाइएको र नेतृत्वबाटै पार्टीको अवमूल्यन भएको उहाँको आरोप थियो ।

उहाँले शक्ति सन्तुलनको विषयमा संवैधानिक नियुक्तिमा कांग्रेसको स्पष्ट अडान आवश्यक रहेको धारणा पनि राख्नुभयो ।

नीति र सुशासनमा स्पष्टता माग

महरले सुशासनका लागि नेतादेखि कार्यकर्तासम्म इमान्दार हुनुपर्ने बताउँदै, “हामी योजना प्रणालीमा विश्वास गर्दैनौं, योजना झोला र सल्तीमा बोकेर हिँड्छौं,” भन्नुभयो, “अब यो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।”

१४औं महाधिवेशनका एजेण्डा कार्यान्वयन, महासमिति बैठकको प्रतिवेदन सार्वजनिक गर्ने, उपनिर्वाचनको समीक्षा र पार्टी घोषणापत्रको अडिट गर्नुपर्ने विषयमा पनि उहाँले आवाज उठाउनुभयो ।

‘ग्रे जोन’ मा परेको नेपालप्रति गम्भीर चिन्ता

नेपाल अन्तर्राष्ट्रिय वित्तीय सूचकमा ‘ग्रे जोन’ मा परेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै महरले सरकार र पार्टी दुवैको ध्यानाकर्षण गराउनुभयो । “देशको अर्थतन्त्र, बैंकिङ प्रणाली, वैदेशिक लगानी र प्रतिष्ठामा विनाशकारी असर पर्न सक्छ,” उहाँले भन्नुभयो, “कांग्रेसले नेतृत्वदायी भूमिका लिनुपर्छ ।”

यस विषयमा अध्ययन गरी पार्टीको आधिकारिक धारणा बनाउन विशेष समिति गठन गर्नुपर्नेमा पनि उहाँको जोड थियो ।

शिक्षा, जलवायु र विदेशफर्केकाहरूको व्यवस्थापनमा ध्यान

पार्टीले शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, कूटनीति र विदेशबाट फर्किएकाहरूको व्यवस्थापनबारे स्पष्ट नीति बनाउनुपर्नेमा महरले जोड दिनुभयो । विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघ-सरकारबीचको वार्ता विषयमा समेत कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उहाँको सुझाव थियो ।

नेता महरले अन्त्यमा पार्टीभित्र लोकतान्त्रिक अभ्यास सुदृढ पार्न, स्पष्ट मार्गचित्र तयार गर्न र सबै तहमा जवाफदेहिता स्थापित गर्न कांग्रेस नेतृत्वसँग आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *