Headlineदेशसमाचार

समाचार लेखेकै आधारमा फौजदारी अभियोग लगाइनु प्रेस स्वतन्त्रतामाथि प्रहार : पत्रकार महासंघ

Sharing is caring!


असार ११, २०८२ । प्रकाशित समाचारका आधारमा पत्रकारहरूमाथि विशेष अदालतले फौजदारी अभियोग लगाएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघले अदालतको पछिल्लो आदेशलाई प्रेस स्वतन्त्रता र संविधानप्रदत्त अधिकारमाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेको छ।

दृष्टि साप्ताहिक र दृष्टिन्युज डटकममा असार ८ गते प्रकाशित ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकको समाचारलाई लिएर विशेष अदालतमा कार्यरत कर्मचारीको गुनासोका आधारमा अदालतले सो समाचारका प्रकाशक शम्भु श्रेष्ठ, सम्पादक एमपी सुब्बालगायत पत्रकारविरुद्ध फौजदारी अभियोग लगाउने आदेश जारी गरेको हो।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “समाचारको विषयलाई लिएर अदालतबाट पत्रकारविरुद्ध फौजदारी अभियोग लगाइनु प्रेसको संविधान प्रदत्त अधिकारमाथिको हस्तक्षेप हो र यो प्रचलित कानुन तथा लोकतान्त्रिक पत्रकारिताको अभ्यास अनुकूल छैन।”

महासंघले स्पष्ट रूपमा उल्लेख गरेको छ कि संचारमाध्यमलाई कुनै पनि सार्वजनिक सरोकारका विषयमा समाचार प्रकाशित वा प्रसारण गर्ने अधिकार संविधानले सुनिश्चित गरेको छ। त्यसैले समाचारप्रति असहमति भए त्यसको उचित समीक्षा र नियमनको क्षेत्राधिकार प्रेस काउन्सिल नेपालमा रहेको भन्दै, अदालतबाट आएको आदेशप्रति पुनर्विचार गर्न सम्बन्धित निकायसँग विशेष आग्रह गरिएको छ।

महासंघले न्यायपालिकाको भूमिकाप्रति सम्मान प्रकट गर्दै पनि प्रेस स्वतन्त्रता जस्तो संवैधानिक मूल्यमा आघात हुने कदमलाई अस्वीकार गर्ने जनाएको छ। साथै, यस प्रकरणमा महासंघले कानुनी सहजीकरणसमेत गर्ने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *