देश

सरकारले सुकुम्बासीको खानेपानी रोकेर मानवताविरोधी अपराध गर्‍यो : सांसद साह

Sharing is caring!

वैशाख २२, २०८२ । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद प्रभु साहले सरकारले काठमाडौंका सुकुम्बासी बासिन्दाहरूलाई खानेपानी रोक्ने कार्यमार्फत मानवताविरोधी अपराध गरिरहेको आरोप लगाएका छन् ।

आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले राजधानीका विभिन्न क्षेत्रहरूमा रहेका सुकुम्बासी बस्तीहरूमा विगत केही समयदेखि खानेपानी आपूर्ति रोकिएको गुनासोहरू बढिरहेको उल्लेख गरे । उनले यस्तो कार्यलाई अमानवीय र गैरजिम्मेवार कार्यको संज्ञा दिंदै राज्यको जिम्मेवारीबाट सरकार पन्छिन नमिल्ने बताए ।

“खानेपानी जस्तो आधारभूत सेवाबाट सुकुम्बासी नागरिकलाई वञ्चित गर्नु मानवताको अपमान हो । सरकार यसरी नागरिकमाथि दमन गर्न सक्दैन। यो सरासर मानवताविरोधी अपराध हो,” साहले संसदमा बताएका थिए ।

सांसद साहले तत्काल सुकुम्बासी बस्तीहरूमा खानेपानीको आपूर्ति पुनः सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले यस्तो संवेदनशील विषयमा सबै नागरिक, मानव अधिकारकर्मी, सञ्चारकर्मी तथा राजनीतिक दलहरूलाई समेत मानवताका पक्षमा ऐक्यबद्ध हुन अपिल गरे ।

उनले भने, “हामी सबैको सशक्त समर्थन र दबाबबिना यो अन्यायको अन्त्य हुँदैन। मानवतालाई बचाउन अब हामी सबै एकजुट हुनुपर्छ ।”

सुकुम्बासी बस्तीहरूमा बसोबास गर्ने हजारौं नागरिकहरू हालपल्ट पानीको अभावमा अत्यन्त कठिन जीवन बिताइरहेका छन् । यस विषयमा राज्यका जिम्मेवार निकायहरूको मौनता र उदासीनता प्रति जनस्तरबाट समेत व्यापक असन्तुष्टि देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *