पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार : सदस्य सचिवसहित १४ जनाविरुद्ध मुद्दा दायर
असार ८, २०८२ । पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचारको आरोप लागेका सदस्य सचिवसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले आज (आइतबार) कोषको सम्पत्ति हिनामिना तथा राज्यलाई आर्थिक हानी पुर्याएको ठहर गर्दै सो मुद्दा दायर गरेको हो। मुद्दामा कोषका वर्तमान र पूर्व पदाधिकारी, परामर्शदाता, ठेकेदार तथा इन्जिनियरसमेत समावेश छन् ।
मुद्दा दर्ता गरिएका व्यक्तिहरूमा कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, तत्कालीन निमित्त सदस्य सचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, तत्कालीन उपनिर्देशकहरू रेवती रमण अधिकारी र सिताराम रिसेल, इन्जिनियर पशुपति ठाकुर, डेनिस उप्रेती र रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुल्चोक क्याम्पस इलेक्ट्रिकल विभागका प्रमुख युवराज अधिकारी, कानुनी सल्लाहकार तथा मूल्यांकन समिति सदस्य लैनबहादुर थापा, म्याप इन्टरप्राइजेजका सञ्चालक मनोज पुरी र यदुनन्दन भट्टराई, एप्पल इन्जिनियरिङ कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुरज चापागाईं रहेका छन् ।
आयोगको अनुसन्धान अनुसार, आवश्यक प्रक्रिया तथा विज्ञको सल्लाहबिना अनुभवहीन परामर्शदातालाई सिधै नियुक्त गरिएको थियो । ठेकेदारसँगको मिलेमतोमा नक्कली कोटेसन तयार पारिएको, नक्कली विज्ञ खडा गरिएको र अत्यधिक लागत देखाएर गलत प्रतिवेदन तयार गरिएको आरोप छ । यस्ता प्रतिवेदनका आधारमा बिल–भौचर जारी हुनु अघि नै भुक्तानी स्वीकृत गरिनु भ्रष्ट आचरणको प्रमाण भएको आयोगले जनाएको छ ।
अनियमिततामा संलग्न व्यक्तिहरूमार्फत कम गुणस्तरको मेसिन जडान गरिएको र त्यसको समयमै मर्मतसम्भार नगरिएको आयोगको ठहर छ । अहिले ती उपकरणहरू सञ्चालनमा नरहेको अवस्था आएको उल्लेख छ ।
यी सबै कार्यले कोषलाई ठूलो आर्थिक क्षति पुर्याएको निष्कर्ष निकाल्दै आयोगले कुल १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गराएको हो ।
आयोगका अनुसार सरकारी निकायमा हुने योजनाविहीन नियुक्ति, स्वार्थ आधारित निर्णय र मिलेमतोका यस्ता घटनाले राज्यको ढुकुटीमाथि गम्भीर असर पारिरहेको छ । अब न्यायिक प्रक्रियाले यसमा आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ।



