समाचार

पूर्वमन्त्री यादवसहित ८ जनाविरुद्ध ५६ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर

Sharing is caring!

जेठ ४, २०८२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सागरनाथ वन क्षेत्रको नाममा भएको भ्रष्टाचार प्रकरणमा संलग्न ठहर गर्दै पूर्वमन्त्री विजय कुमार यादवसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आइतबार दायर गरिएको मुद्दामा ५६ करोड रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरिएको दाबी गरिएको छ ।

अख्तियारले सार्वजनिक गरेको विवरण अनुसार जनता समाजवादी पार्टीका पूर्वमन्त्री विजयकुमार यादवमाथि मात्रै २९ करोड ९९ लाख रुपैयाँ बराबरको अनियमितता गरेको आरोप छ । उनीसँगै नगरप्रमुख भरत थापा, उपप्रमुख लीलाकुमारी मुक्तानसहित इञ्जिनियर र लेखा अधिकृतहरूमाथि पनि भ्रष्टाचारमा संलग्न भएको आरोप लागेको छ ।

सागरनाथ वन क्षेत्रभित्रका योजनाहरूको नाममा ढुंगा-गिट्टी उत्खनन्, माछा पोखरी निर्माण, तथा संरचना विकासको बहानामा नक्कली काम गरी अनुदान रकम लिएको खुलाइएको छ । अख्तियारका अनुसार सम्बन्धित पक्षहरूले योजना सम्पन्न नगरीकन पटक–पटक थप रकम मागेका थिए भने केही अवस्थामा एकल निर्णयमार्फत सम्झौता (एमओयु) गरी रकम निकासा गरिएको थियो ।

पूर्वमन्त्री यादवसहितको समूहले सरकारी रकमको दुरुपयोग गर्दै व्यक्तिगत लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ । यसअघि नै भ्रष्टाचार र अकूत सम्पत्तिसम्बन्धी छानबिनमा रहेका नगरप्रमुख थापाविरुद्ध पुनः मुद्दा परेको छ भने उपप्रमुख मुक्तानलाई योजनामा मिलेमतो गरेको अभियोग लागेको छ ।

सरकारी स्रोत र संरचनाको अनुचित प्रयोग गरी करोडौं रकम हिनामिना गर्ने कार्यलाई अख्तियारले गम्भीर रुपमा लिएको छ । आयोगले दोषी ठहरिएका सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कारबाही गर्न विशेष अदालतसँग माग गरेको छ ।

पछिल्ला समय उच्च राजनीतिक पदमा रहेका व्यक्तिहरू समेत अख्तियारको दायरामा आउन थालेपछि भ्रष्टाचार नियन्त्रणतर्फ राज्य गम्भीर देखिएको संकेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *