समाचार

सेनिटरी प्याड खरिद प्रकरणमा पूर्वप्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Sharing is caring!

फागुन २०, २०८० । सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वप्रमुख, उपप्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

काठमाडौंस्थित विशेष अदालतमा आइतबार मुद्दा दायर भएको हो । मुद्दा पूर्वप्रमुख उदयकुमार यादव, उपप्रमुख शीलादेवी कापर, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदीपकुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेव प्रसाद अधिकारी, श्रीमावि हठ्ठीपुरवाहाका प्रधानाध्यापक श्रीकृष्ण भिनवार, सवइन्जिनियर सरोजकुमार महतो र धनुषाको रेजा ट्रेडिङ एवं रेजा टुडे पत्रिकाका प्रकाशक अकबर मन्सुरविरुद्ध दायर गरिएको आयोगले जनाएको छ ।

सेनेटरी प्याड खरिदका लागि नगरपालिकाले रेजा ट्रेडिङलाई १३ लाख ९३ हजार ६ सय ८७ रुपैयाँ भुक्तानी दिएको थियो । आयोगका अनुसार खरिद सम्झौता २०७७ फागुन १९ मा भएको थियो । तर, आपूर्ति त्यसको ६ दिनअघि नै भएको खुलेको छ ।

सेनेटरी प्याड आपूर्तिका लागि सूचना रेजा दैनिकमा प्रकाशित गरेर खरिद सम्झौता गरिएको त्यसबेला नगरपालिकाले जनाएको थियो ।

तर, आयोगले सूचना उक्त पत्रिकामा प्रकाशित नै नभएको दाबी गरेको छ । बदनीयतपूर्ण ढंगले खरिद सम्झौता भएको पाइएको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *