अध्यक्ष नेपालविरुद्ध षड्यन्त्र गरिएको छ : एकीकृत समाजवादी
जेठ २२, २०८२ । नेकपा (एकीकृत समाजवादी) ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध षड्यन्त्र गरिएको दाबी गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाबारे प्रारम्भिक धारणा सार्वजनिक गर्दै पार्टीले सो दाबी गरेको हो ।
बिहीबार बसेको आकस्मिक बैठकपछि पार्टी प्रवक्ता प्रकाश ज्वालाले राजनीतिक पूर्वाग्रहका आधारमा अध्यक्ष नेपालमाथि मुद्दा लगाइएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार अध्यक्ष नेपालले कुनै भ्रष्टाचारजन्य क्रियाकलाप नगरेको स्पष्ट रहेको छ ।
“यसको प्रतिवाद गर्छौं । मुद्दा परिसकेपछि हामी भाग्दैनौं। नडराउनु, नबिराउनु भनेर अध्यक्ष कमरेडले प्रारम्भिक प्रतिक्रिया दिइसक्नुभएको छ,” प्रवक्ता ज्वालाले भने ।
उनले थपे, “शिर ठाडो पारेर यसलाई पराजित गर्न सक्छौं । अदालती रूपमा सम्पूर्ण कुरा गर्छौं । अदालतबाट क्लीन चिट लिएर फर्किन्छौं । खारेज भयो भनेर फर्किन्छौं ।”
प्रवक्ता ज्वालाले आयोगले ल्याएको मुद्दा पूर्वाग्रही ढंगबाट प्रेरित भएको जनाउँदै सो कदमले निष्पक्षताको मर्मलाई नै कमजोर बनाएको टिप्पणी गरे । पार्टीले कानुनी प्रक्रियालाई सम्मान गर्ने तर अन्यायपूर्ण व्यवहारविरुद्ध दृढतापूर्वक लड्ने जनाएको छ ।
एकीकृत समाजवादीले अध्यक्ष नेपालमाथिको मुद्दालाई केवल राजनीतिक बदला र चरित्र हत्या गर्ने प्रयासका रूपमा हेरेको छ ।

