कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने
जेठ १, २०८२ । नेपाली कांग्रेसका सभापति एवंम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक शनिबार बोलाएका छन् । बैठक यहि शनिबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने भएका छन् ।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठकमा चालू आर्थिक वर्षको बजेटको तयारी तथा आगामी नीति–कार्यक्रमबारे छलफल हुनेछ । उनका अनुसार संसदमा प्रस्तुत गरिन लागिएको बजेटसँग सम्बन्धित विषयमा दलभित्र गहन छलफल आवश्यक भएकाले बैठक आह्वान गरिएको हो ।
यस्तै, टेरामक्स प्रकरणमा पार्टीका सांसद मोहन बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उत्पन्न परिस्थितिबारे पनि बैठकमा कुरा उठ्ने बताइएको छ । बस्नेतविरुद्ध मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ ।
बैठकमा आगामी रणनीति, संसदको आगामी कार्यसूची र दलको भूमिका निर्धारण गर्ने विषयमा समेत छलफल हुने कांग्रेस स्रोतले जनाएको छ ।

