स्थानीय र बाह्य प्रणालीको असर: सातै प्रदेशमा वर्षा हुने
वैशाख ५, २०८२ । हाल देशमा स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव सक्रिय देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यही प्रणालीका कारण आज देशका अधिकांश भागमा मौसम बदली भएको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
देशका सातै प्रदेशमा दिउँसोदेखि रातिसम्म आंशिकदेखि सामान्य बदलीको स्थिति रहनुका साथै चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भेगहरूमा हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।
‘देशका अधिकांश स्थानमा बादल लाग्नेछ,’ मौसमविद् विभूति पोखरेलले एकान्तपुरसँग भने, ‘केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा पनि हुन सक्छ, उच्च भागमा भने हिमपातको सम्भावना छ।’
महाशाखाले सम्भावित वर्षा र हिमपातका कारण कृषि, सडक यातायात, हवाई उडान, स्वास्थ्य सेवा र सामान्य जनजीवनमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। मौसमविद्हरूका अनुसार यो प्रणालीको असर आगामी केही दिनसम्म रहन सक्नेछ।
यसबीच, काठमाडौं उपत्यकामा बिहानदेखि नै बादल लागेको छ भने मध्यान्हतिर हल्का वर्षा हुने सम्भावना रहेको छ। आज अधिकतम तापक्रम २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

