देश

कक्षा १२ को परीक्षा सञ्चालनमा निजामती कर्मचारी परिचालन गर्ने प्रयासप्रति युनियनको आपत्ति

Sharing is caring!

वैशाख ९, २०८२ । कक्षा १२ को परीक्षा सञ्चालनमा निजामती कर्मचारीलाई परिचालन गर्ने सरकारको तयारीप्रति निजामती कर्मचारी ट्रेड युनियनले तीव्र असन्तुष्टि व्यक्त गरेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै युनियनका नेताहरूले यस्तो असन्तुष्टि जनाएका हुन्। उनीहरूले परीक्षा सञ्चालनजस्तो शैक्षिक जिम्मेवारीमा निजामती कर्मचारीलाई प्रयोग गर्न खोजिएकोप्रति आपत्ति जनाउँदै, यो कदम अनुचित भएको बताए।

नेपाल निजामती कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष उत्तम कटुवालले शिक्षकमाथि निर्भर रहनुपर्ने जिम्मेवारीमा सरकारी कर्मचारीलाई प्रयोग गर्ने निर्णयप्रति आपत्ति जनाए। उनले भने, “१२ कक्षाको परीक्षामा निजामती कर्मचारी परिचालन गर्न खोजिएको छ। त्यसमा हाम्रो असहमति छ।”

कटुवालले हाल भइरहेको शिक्षक आन्दोलनप्रति पनि समर्थन जनाउँदै, निजामती कर्मचारीलाई परीक्षामा परिचालन गरेर उक्त आन्दोलनलाई कमजोर बनाउने प्रयासप्रति आफूहरू सहमत हुन नसक्ने स्पष्ट पारे।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले पनि यस्तै धारणा राखे। उनले सरकार शिक्षकमाथिको आन्दोलन व्यवस्थापन गर्न असफल भएपछि अन्तिम उपायका रूपमा निजामती कर्मचारीलाई अघि सार्न खोजिएको आरोप लगाए। “सरकारले खोज्ने अन्तिम हतियार निजामती कर्मचारी हो भन्ने कक्षा १२ को परीक्षामा परिचालन गर्न खोजिनुले पनि प्रष्ट पार्छ,” भट्टले भने।

उनले कर्मचारीहरू सन्तुष्ट भए मात्र गुणस्तरीय नीति तथा कानुन बन्ने उल्लेख गर्दै, तिनको आत्मसम्मानमाथि खेलबाड नगर्न आग्रह गरे। यसअनुरूप नीति निर्माण गर्न सरकारलाई गम्भीर बन्नु पर्ने उनको भनाइ थियो।

सरकारले शिक्षकहरूको आन्दोलनलाई नियन्त्रण गर्न खोज्दा शिक्षण क्षेत्रबाहेकका कर्मचारीमाथि जिम्मेवारी थोपर्ने प्रयासलाई युनियनहरूले अस्वीकार गरेका छन्। उनीहरूका अनुसार, यस्तो प्रवृत्तिले निजामती सेवा प्रणालीको संरचना र मर्यादामाथि प्रत्यक्ष असर पार्नेछ।

यसबीच, सरकारले भने परीक्षा सञ्चालनलाई सुनिश्चित गर्न सबै विकल्प खुला राख्ने नीति अपनाइरहेको जनाएको छ। तर युनियनहरूको कडा असन्तुष्टि र दबाबका कारण सरकारको आगामी कदमप्रति अब सबैको ध्यान केन्द्रित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *