बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव भ्रष्टाचार आरोपमा पक्राउ
असार ६, २०८२ । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विहान पक्राउ गरेको छ।
अख्तियारको काठमाडौंस्थित टोलीले उनलाई नियन्त्रणमा लिएको हो। निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवमाथि पोखरिया र बहुदरमाई नगरपालिकामा सञ्चालित विभिन्न योजना तथा ठेक्का प्रक्रियामा अनियमितता गरी गैरकानुनी लाभ लिएको आरोप लागेको अख्तियार स्रोतले जनाएको छ।
श्रीवास्तवमाथि सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको, कानुनी प्रक्रिया उल्लंघन गर्दै ठेक्का सम्झौतामा हस्तक्षेप गरेको र योजनाको कार्यान्वयनमा आर्थिक अनियमितता गरेको आशंका गरिएको छ। प्रारम्भिक प्रमाण संकलनपछि उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको अख्तियारले स्पष्ट पारेको छ।

